काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।
१३६औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे ।
फालिएको राजतन्त्र पक्षधरहरुको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको बताउँदै उनले उनीहरुको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्ने जस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले फेरि फर्कने कुचेष्टा गरिरहेकाे बताए।
“शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरुको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले अगाडि भने, ‘हामी समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ । हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा हामीले गर्छौँ । हाम्रो झण्डा ख्याल ख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरु राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ । हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ ।’











