चितवन । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरको आयोजनामा चैत २९ गतेदेखि हुन लागेको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा नारायणगढको क्याम्पा चौरमा फुड फेस्टिबल हुन लागेको हो । एक्स्पो एण्ड फुड फेस्टिवल वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।
बुधबारसम्म फुड फेस्टिवलको तयारी ९० प्रतिशत पुरा भएको नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष तथा फुड फेस्टिवल संयोजक उमेश श्रेष्ठले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फुड फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
फुड फेस्टिबलमा स्टार्ट अपका १० वटा स्टल रहनेछन् । स्टार्ट अप व्यवसायीबीच प्रतिस्पर्धा हुने र सर्वाेत्कृष्टले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताए । अल्पसंख्यक समुदायले उत्पादन गरेका वस्तु प्रदर्शनीका लागि १० वटा स्टल निःशुल्क उपलब्ध गराइने उनले जानकारी दिए ।
एक्स्पोमा हरेक दिन बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म नेपालमा उत्पादित वस्तुको प्रदर्शनी हुनेछ भने बेलुका ६ बजेदेखी राति ९ बजेसम्म सांगीतिक प्रस्तुती हुने उनले बताए । फुड फेस्टिवल तथा सांगीतिक प्रस्तुती हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपौयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने छ ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो अवलोकन गर्दा भने कुनै शुल्क नलाग्ने अधिकारीले बताए । एक्स्पो तथा फुड फेस्टिवलमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरुको प्रदर्शनी गरिने छ ।
नेपालमै उत्पादन वृद्धि र रोजगारी सिर्जनाको लागि एक्स्पो फलदायी हुने अपेक्षा गरिएको छ । एक्स्पो अवलोकनका लागि गेट पासको व्यवस्था गरिएको छ । गेट पास लिएर एक्स्पो अवलोकन गर्ने भाग्यशाली व्यक्तिले मोबाइल उपहार प्राप्त गर्ने छन् ।
‘गेट पास पाएका अवलोकनकर्ताले गेट पासको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर बक्समा हाल्नुपर्ने हुन्छ । एक्स्पोको अन्तिम दिन एक जना भाग्यशाली अवलोकनकर्तालाई लक्की ड्र मार्फत मोबाइल उपहार प्रदान गर्ने छौँ’, उनले भने ।
उनका अनुसार एक्स्पोमा कृषि, निमार्ण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायीहरु सहभागी हुनेछन् ।
१०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टका पूर्वअध्यक्ष निरन्जन न्यौपानेले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रममा चैत २९ गते द एज व्याण्ड, चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, बैशाख १ गते द स्वर र बैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुती रहने छ ।
फुड फेस्टिवलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ, जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।












