चितवन । नेपालमा नै पहिलोपटक राष्ट्रिय डेरी एक्स्पो–२०८१ चितवन आजदेखि भरतपुरमा सुरु हुने भएको छ । दूधको बजारीकरण र विविधिकरणलाई प्राथमिकता दिने उद्धेश्यसहित एक्स्पो गर्न लागिएको हो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुन लागेको एक्स्पोको उद्धघाटन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गर्ने कार्यक्रम रहेको छ । एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
एक्स्पोले दुग्ध क्षेत्रको बृहत् विकासका लागि साझा मञ्च प्रदान गर्ने र नयाँ प्रविधि र नवप्रबर्द्धन र बजार विस्तार र ब्राण्ड प्रबर्द्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।
एक्स्पोमा दूध र डेरी उत्पादन सम्बन्धि उपकरणलगायतका प्रविधिहरु प्रदर्शन गरिने बगालेले बताए । ‘हामीले डेरी उत्पादनमा नविनतम प्रविधि गरी यो क्षेत्र थप व्यवसायिक बनाउन एक्स्पो गर्न लागेका हौं’, बगालेले भने, ‘यसले समग्र कृषक तथा व्यवसायीलाई ज्ञान आदान प्रदानमा पनि टेवा पुग्नेछ ।’ एक्स्पोमा डेरीका उपकरण, डेरी उत्पादन, बिमा तथा वित्तीय संस्थाका तथा केही विदेशी स्टलहरु गरी ५२ वटा स्टल रहने उनले जानकारी दिए ।
चितवन उद्योग संघका कार्यबाहक अध्यक्ष मदन घिमिरेले एक्स्पोले दूध उत्पादन क्षेत्रको बजारीकरण विविधिकरणमा मद्दत पुगोस् भन्ने हेतुले डेरी एक्स्पोको आयोजना गरिएको बताए । ‘चितवन एक्स्पो सेन्टरमा कृषि, मेडिकल , पोल्ट्री लगायत कृषि यन्त्र तथा अटोमोबाईलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय एक्स्पोहरु भईसकेको छ’, घिमिरेले भने, ‘यो प्रथम डेरी एक्स्पोले दुग्ध किसान तथा डेरी प्रडक्टको पनि प्रबर्द्धन पुग्छ र किसानहरुलाई पनि व्यवसायिकरणमा टेवा पुग्छ ।’ एक्स्पोले चितवनको आर्थिक गतिविधि समेत चलायमान हुने घिमिरेको भनाई छ ।
एक्स्पोमा यसक्षेत्रका सरोकारवाला, व्यवसायी एवं किसानबिच किसानका भुक्तानी, उत्पादन र बजारीकरण विषयमा अन्तरक्रिया हुनेछन भने दुग्ध सहकारीबिच हाजिरीजवाफ प्रतियोगिता समेत हुने बगालेले जानकारी दिए । माघ २७ गतेसम्म चल्ने एक्स्पोमा २१ लाख खर्च हुने अनुमान गरिएको छ । एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।












