काठमाडौं । सङ्क्रमण भएपछि सुँगुर, बङ्गुर तथा बँदेलको मृत्युदर शतप्रतिशत हुने भएकाले किसानको सबैभन्दा ठुलो शत्रुका रूपमा रहेको अफ्रिकन स्वाइन फिभर यो वर्ष पनि देखिँदा नेपाली किसान चिन्तामा परेका छन् ।
मङ्सिरमा काठमाडौँको नख्खुखोला आसपास देखिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण नियन्त्रणमा आए पनि पुनः कैलालीमा देखिएपछि पशु सेवा विभागले देशव्यापी रूपमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, विभागले सातै प्रदेश, पशु सेवा कार्यालय र स्थानीय तहलाई दुई वर्षअघि महामारीको रूप धारण गरेको अफ्रिकन स्वाइन फिभर सङ्क्रमणको जोखिमबारे जानकारी गराइसकेको छ । दुई वर्षअघि यो सङ्क्रमणले नेपालभरमा अर्बौंको क्षति पुर्याएको थियो । २०७९ सालमा महामारीको रूप धारण गरेको र हजारौँ सुँगुर, बङ्गुर तथा बँदेलको मृत्युको कारक बनेको अफ्रिकन स्वाइन फिभरले २०८० सालमा कम क्षति गरे पनि यो वर्ष फेरि देखिएको छ ।
पशु सेवा विभागले यो वर्ष विभिन्न प्रदेशका पशुमा अफ्रिकन स्वाइन फिभरले दोहोरिएर देख्न थालेको उल्लेख गरेको छ । केन्द्रीय प्रयोगशालामा जाँच गरिएका नमुनामा अफ्रिकन स्वाइन फिभर दोहोरिएर आइरहेको छ तर अहिले डराउने अवस्था नभए पनि सचेत भने गराएको पशु सेवा कार्यालयले उल्लेख गरेको छ । यस वर्षसमेत नेपालका कम्तीमा दुई प्रदेशमा पुष्टि भएसँगै अधिकारीहरूले सजगता अपनाउन अनुरोध गरेका छन् ।
२०७९ सालको जेठ महिनामा पहिलो पटक नेपालमा देखा परेको थियो । बङ्गुर, सुँगुर र बँदेलपालक किसानको सबैभन्दा ठुलो दुस्मनको रूपमा रहेको अफ्रिकन स्वाइन फिभर देखिएपछि किसान चिन्तामा परेका छन् । नेपालमा हरेक वर्ष सो सङ्क्रमणले किसानले करोडौँको क्षति बेहोरिरहेका छन् । यो वर्ष समयमै सङ्क्रमण रोक्न प्रभावकारी कदम नचाल्ने हो भने स्थिति भयावह हुन सक्ने भएकाले विज्ञहरूले चेतावनीसमेत दिएका छन् ।
बङ्गुर, सुँगुर र बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभर पुनः पुष्टि भएपछि सतर्कता अपनाउन पशुसेवा विभागले अनुरोध गरेको छ । बागमतीको काठमाडौँ र सुदूरपश्चिमको कैलालीमा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको पशुसेवा विभागका सूचना अधिकृत डा। सुधीरकुमार सिंहले जानकारी दिनुभयो । काठमाडौँमा सो रोग नियन्त्रणमा आइसकेको छ ।
उहाँले अफ्रिकन स्वाइन फिभर गम्भीर तथा अत्यन्त सङ्क्रामक भाइरल रोग हो । यो रोगले विशेष गरी, घरपालुवा तथा जङ्गली बङ्गुरलाई प्रभावित पार्ने स्पष्ट पार्नुभयो । सङ्क्रमित भएपछि लक्षण देखिए पनि नदेखिए पनि शतप्रतिशत बङ्गुर, सुँगुर र बँदेलको मृत्यु हुने भएकाले यो निक्कै घातक मानिन्छ । यो रोगको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पातलो दिसा गर्ने, छट्पटाउने, लडखडाउने, गर्भ तुहिने समस्या पशुमा देखा पर्छ ।












