काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निवासमै पुगेर राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेट गरेका छन्। मंगलबार बिहान खुमलटारमै पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन्।
मिश्रसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको बताएका छन्। भेटमा देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने अग्रगमन बाँकी नरहने प्रचण्डलाई सुनाएको मिश्रले बताएका छन्।
जवाफमा प्रचण्डले पनि अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको सुनाएको मिश्रको उल्लेख गरेका छन्। प्रचण्डको भनाइ उल्लेख गर्दै सामाजिक संजालमा मिश्रले लेखेका छन्, ‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छु। निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो।’
मिश्रसँगको संवादमा प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेर्दा पञ्चायतकालमा धेरै राम्रो काम भएको पाएको बताएका छन्।












