काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग आज नेपालका लागि जर्मनका राजदूत डा थोमास प्रिन्सले शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने शाहले बताए । राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्दै अहिलेको अवस्थाका बारे जानकारी लिन चाहेपछि प्रमुख शाहले आफ्नो योजना सुनाएका हुन् ।
‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’ शाह भन्छन्।
महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख शाहले, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र पुनस्र्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताए।
फोहोरको बर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौँ महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको इच्छा व्यक्त गरे । उनले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए।











