–कुलप्रसाद काफ्ले
भरतपुर । ४१ वर्षका कृष्ण महतोलाई कामका लागि कहिल्यै पनि विदेश जाने चाहना भएन । होटल क्षेत्रमा झण्डै एक दशक कामदारको अनुभव बटुलेका उनी अहिले होटलकै मालिक बनेका छन् । उनले भरतपुर–३ कमलनगरस्थित होटल ह्याप्पी होमलाई ब्राण्ड बनाउँदै छन् । थारु खानाका परिकार पस्किएर ग्राहकहरुलाई सँधै ‘ह्याप्पी’ बनाउने उनको प्रण पनि छ ।
उनले होटल ह्याप्पी होम सञ्चालन गर्न थालेको आगामी असोजमा सात वर्ष पुरा हुँदै छ । भरतपुर–२८ मेघौलीमा जन्मिएका कृष्णले नारायणगढकै सेन्ट्रल पाम होटलमा झण्डै एक दशक काम गरे । उनले त्यहाँ सर्भिसदेखि व्यवस्थापनसम्म सबै काम सिके । होटल साहुको समेत विश्वास जितेका उनले त्यहाँ स्टोर, मार्केटिङ, सर्भिस, व्यवस्थापन सबै कामको अनुभव लिन पाए ।
एक दशकको अनुभवपछि उनलाई आफ्नै होटल खोल्ने इच्छा लाग्यो । तर, होटल खोल्न उनीसँग पर्याप्त रकम थिएन । होटल खोल्ने भनेपछि उनका बुबाले मेघौलीकै साना किसान सहकारीबाट पाँच लाख रुपैयाँ ऋण निकालिदिए । ऋण काढेर लिएको पैसा र आफन्तहरुसँगको केहि सरसापटीबाट उनले एउटा घर भाडामा लिएर ‘होटल ह्याप्पी होम’ नामक होटल खोलेका हुन् । होटल ह्याप्पी होमको मुख्य उद्धेश्य पर्यटकहरुलाई थारु खाना खुवाउनु हो ।
२०५८ सालमा सरस्वती मावि जीतपुरबाट एसएलसी गरेका कृष्णले जानकी उच्च माविबाट कक्षा ११ र १२ को पढाई सकेका हुन् । बालकुमारी कलेजमा स्नातक तह पढ्दै गर्दा उनले होटलमा काम गर्न थाले । ‘होटलमा काम गर्दै मास्टर पढ्न विरेन्द्र क्याम्पसमा भर्ना भएको थिएँ, तर काममा बढी समय खर्चिनु परेकाले पढाईलाई निरन्तरता दिन सकिन । पढाई छाडेर काममै बढी केन्द्रित भएँ’, उनले सुनाए ।
होटल खोलेको एक वर्षमै उनले होटलमा २५ लाख रुपैयाँ लगानी थपे । ‘आफैले कमाएर लगानी थप्ने खुबी थिएन । बैंकको ऋण र आफन्तको सापटी गरेर २५ लाख जति थप लगानी गरेँ’, उनले भने । आफु थारुको छोरो भएकाले ग्राहकहरुलाई थारुकै परिकार खुवाउने सोँच बनाएर उनले होटल खोलेका थिए । जिल्लाकै प्रमुख बजार नारायणगढमा थारु खानाका परिकार पाइने सम्भवत यो नै एकमात्र होटल हो ।
उनले ग्राहकलाई घोंगी, हाँसको मासु, गंगटा, चिच्चर लगायतका थारु खाना खुवाउँदै आएका छन् । बास बस्नका लागि २० वटा आरामदायी कोठाको व्यवस्था गरेका छन् । ह्याप्पी होमले एक पटकमा १०० जनासम्मलाई खाना खुवाउन सक्ने सञ्चालक महतो बताउँछन् । अहिले होटलमा एक करोड भन्दा बढी लगानी पुगेको छ । सुरुमा भाडामा लिएको घरले मात्रै अपुग भएपछि छेउको अर्को घरपनि उनले भाडामा लिएका छन् ।
‘ह्याप्पी होमलाई ग्राहकले आफ्नो दोस्रो घर हो भन्ने महसुस गरुन् भन्ने किसिमले सेवा दिँदै आएका छौँ । ग्राहकलाई ह्याप्पी बनाउन सके हामीहरु पनि ह्याप्पी हुन्छौँ । यहाँ आउने ग्राहकलाई अहिलेसम्म ह्याप्पी नै बनाएर पठाएको छु’, उनले भने । यहाँ चितवन लगायत देशका विभिन्न जिल्लाबाट पर्यटकहरु खाना खान आउने गरेका छन् । अष्ट्रेलिया, कोरिया, चिन, भारत लगायत विभिन्न देशबाट आएका पर्यटकले समेत यहाँ आएर थारु परिकारको स्वाद लिएको उनी बताउँछन् ।
बुकिङ डटकम, एक्सपेडिया, ट्रिप एड्भाइजर, इसेवा जस्ता अनलाइन प्लेटफर्मबाट पनि होटलमा कोठा बुकिङ गर्न सकिने उनले बताए । ‘धेरैजसो गेष्टहरु अनलाइनमा हेरेर, होटलको रिभ्यु हेरेर आउने गर्नुभएको छ । हामीले गेष्टहरुबाट राम्रो रिभ्यु पनि पाएका छौँ’, उनले भने । मेरो किनमेल जस्ता अनलाइन डेलिभरी एपबाट खाना घरमै मगाएर खान पनि सकिने उनले बताए । उनी होटल व्यवसायी संघ चितवनको सचिव समेत हुन् ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको भ्रमण वर्ष २०२४ बाट होटल व्यवसायीलाई केहि सहयोग भएको उनी बताउँछन् । आर्थिक मन्दीको समयमा पर्यटन क्षेत्र चलायमान बनाउन भ्रमण वर्षले सहयोग पुग्ने उनको धारणा छ । होटल पर्यटनको अभिन्न अंग भएकाले भ्रमण वर्षमा पर्यटकलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उनको प्रतिबद्धता छ ।
‘हामीले पहिल्यै देखि नै खानामा छुट भन्दा पनि गुणस्तरमा ध्यान दिँदै आएका छौँ । भ्रमण वर्षलाई लक्षित गरी केहि छुट सुविधा पनि दिइएको छ । व्यक्तिगत रुपमा भन्दा छुट भन्दा पनि हाइजेनिक खाना खुवाउने कुरामा जोड दिनुपर्छ जस्तो लाग्छ’, उनले भने । आफुमा लामो समयको अनुभव रहेकाले खाद्य स्वच्छता कायम राख्ने विषयमा ज्ञान रहेको उनले बताए । खाद्य स्वच्छता कायम राखेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उनको होटललाई दुई तारा भएको हरियो स्टिकर प्रदान गरेको थियो ।
थारु परिकार पाउने होटलको रुपमा ह्याप्पी होमलाई ब्राण्ड बनाउने उनको लक्ष्य छ । यस लक्ष्यमा उनी केहिरुपमा सफल पनि भइसकेका छन् । आफै जन्मिएको पर्यटकिय स्थल मेघौलीमा ह्याप्पी होमको सेवा विस्तार गर्ने उनको योजना छ । मेघौलीमा मध्यम स्तरका पर्यटक लक्षित होटल तथा लजहरु छैनन् । त्यसकारण मध्यमस्तरका पर्यटकहरु बास बस्नेगरी मेघौली घुम्न जानेको संख्या न्युन छ ।












