चितवन । भरतपुर महानगरपालिका–७ ले सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको क्षेत्रमा बुधवार अनुगमन गरिएको छ । निषेधित क्षेत्र कार्यान्वयन भए/नभएको बारे हेर्न अनुगमन गरिएको हो । भरतपुर–७ गते एक वर्षअघि स्वास्थ्य संस्था र शैक्षिक संस्थाबाट २०० मिटर वरपरको क्षेत्रलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरेको थियो ।
निषेधित क्षेत्र कार्यान्वयनका लागि सामुहिक प्रयासको आवश्यक रहेको भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले बताए । स्वास्थ्य संस्था र विद्यालय वरपर सूर्तीजन्य पदार्थको विक्री वितरण तथा सेवनलाई पूर्ण रुपमा नियन्त्रण गर्न सबैसँग हातेमालो गर्न वडा कार्यालय तयार रहेको उनले बताए ।
निषेधित क्षेत्र कायम राख्नका लागि समय–समयमा सचेतनामुलक कार्यक्रम गर्ने क्रममा बुधवार पनि सचेतनामुलक स्टिकर टाँसिएको उनले जानकारी दिए । ‘हामीले घोषणा गरे अनुसार सूर्तीजन्य पदार्थ निषेध गर्नका लागि लागिरहेका छौँ’, उनले भने ।
भरतपुर–७ ले महानगरमै सबैभन्दा पहिला स्वास्थ्य संस्था र शैक्षिक संस्था वरपरको क्षेत्रलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्र कायम राख्नका लागि छिटपुट बाहेक सबैको साथ र समर्थन रहेको उनी बताउँछन् । सुर्तीजन्य पदार्थको प्रयोग गर्ने व्यक्तिमा क्यान्सर रोग लाग्छ ।
भरतपुर–७ की वडा सदस्य अमृता गौतमले निषेधित क्षेत्रको अनुगमन गरी स्टिकर टाँस्ने काम गरिएको बताइन् । ‘सबै नागरिक जागरुक हुनुपर्ने आवश्यकता छ । सूर्तीजन्य पदार्थ निषेध गरिएपनि केहि ठाउँमा पालना नभएको पाइयो । त्यसलाई अब हामी कडाई गर्छाैँ’, उनले भनिन् । निषेधित ठाउँमा सूर्तीजन्य पदार्थ विक्री वितरण र सेवन गर्नेलाई १०० रुपैयाँ जरिवाना तिराउने अधिकार टोल विकास संस्थाहरुलाई दिइएको उनले जानकारी दिइन् ।
निषेधित क्षेत्रबाट नगर प्रहरीले पटक–पटक सुर्तीजन्य पदार्थ जफत गर्दै आएको छ । यस विषयमा व्यवसायी र उपभोक्ता पनि सचेत बन्नुपर्ने उनले बताइन् । अनुगमनमा वडाका जनप्रतिनिधि, महानगरको नगरप्रहरी लगायत सरोकारवाला व्यक्तिहरु सहभागी थिए ।











