चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा बन्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा महतले गठबन्धनको नेतृत्व कांग्रेसले गरेकाले आगामी सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्ने उनले बताए । निर्वाचन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी सरकारको प्रधानमन्त्री बनाउनुपर्ने गठबन्धनकै नेताहरुले बताउँदै आएका छन् ।
स्वयम प्रचण्डले पनि आफुलाई जनताले प्रधानमन्त्रीको रुपमा देख्न चाहेको दाबी गर्ने गरेका छन् । आगामी सरकारको नेतृत्व कसले गर्छ भन्ने विषयमा बोल्दै महतले गठबन्धनले बहुमतको सरकार बनाउने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका हुन् । केपी ओलीको पालामा गफ मात्रै भएको भन्दै उनले कांग्रेसले गफ भन्दा काम धेरै गर्ने बताए । ‘आउने सरकार गठबन्धनकै बन्छ, नेपाली कांग्रेसको नेतृत्वमा बन्छ’, उनले भने ।
फरक प्रसंगमा बोल्दै महतले चितवनका बागी उम्मेदवारलाई गठबन्धनलाई समर्थन गर्न आग्रह गरे । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर ३ का कांग्रेसका बागी दिनेश कोइराला सहितका उम्मेदवारहरुलाई गठबन्धनलाई सघाउन उनले आग्रह गरेका हुन् । गठबन्धन अहिलेको आवश्यकता भएकोले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न उनले आग्रह गरे ।
‘उहाँ जुन ठाउँमा उभिनु भएको छ त्यो अहिले उपयुक्त छैन । अहिले व्यक्तिगत बिषय होइन । पार्टीमा को भयो भएन भन्ने कुरो होइन । धेरै योग्य साथीहरु हुनुहुन्छ । गठबन्धनमा कतिपय ठाउँमा छोड्न पर्ने हुन्छ । उहाँलाई त्यो ठाउँ छोडेर गठबन्धनलाई समर्थन गर्न म आग्रह गर्छु’, डा महतले भने ।











