चितवन । चितवनमा नयाँ वर्ष २०८१ को बिहानै दुई ठाउँमा अपराधिक कार्य भएका छन् । आज बिहान भएका धारिलो हतियार प्रहारका दुई छुट्टा–छुट्टै घटनामा दुई जना घाइते भएका छन् भने हतियार प्रहार गर्ने छ जना फरार भएका छन् ।
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा बिहान ३ः२० बजेको समयमा भरतपुर–११ बसेनी बस्ने २४ वर्षीय किरण ढकाललाई अज्ञात चार जनाको समूहले हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको बाँया गाला र कानमा चोट रहेको उनले बताए । उनका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ ।
त्यस्तै, आज बिहान २ः४५ बजेको समयमा भरतपुर–१० दिपेन्द्र चोकस्थित लेमन लाइमन होटल अगाडि भरतपुर–११ नौरंगे बस्ने अन्दाजी ३५ वर्षीय युगकुमार गुरुङलाई भरतपुर–३ न्युरोड बस्ने राजु तामाङ र भरतपुर–११ बसेनी बस्ने समिर गुरुङले धारिलो हतियार प्रहार गरेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।
घाइते युगकुमारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको गर्धनमा मध्यम चोट लागेको छ । यस घटनामा पनि हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।












