सुनिता सुवेदी
चितवन । भरतपुर महानगरपालिका–११ गणेशस्थान नजिकै पुङ्गी खोलाको मुहान छ । उक्त खोला भरतपुर–२ र ३ हुँदै भरतपुर–४ को सिमाना रामघाटहुँदै नारायणी नदीमा मिसिएको छ । पछिल्लो समय भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा पुङ्गी खोला सिमाङ्कन तथा संरक्षण समिति गठन गरी पुङ्गी खोलाको सिमांकन तथा सौन्दर्यकरण गर्ने काम भइरहेको छ ।
पुङ्गी खोला अतिक्रमण गरेर व्यक्तिका घरटहरा, विद्यालय, होटल र वडा कार्यालय समेत बनाएको सिमाङ्कनको क्रममा फेला परेको छ । भरतपुर–२ को वडा कार्यालय, दियालो फुडल्याण्ड, समता स्कुल लगायतले पुङ्गी खोला अतिक्रमण गरेको पाइएको महानगरका नापी अधिकृत विकास देवकोटाले जानकारी दिए । भरतपुर–२, जलदेवीटोलमा अवस्थित समता स्कुलले झण्डै ४ कठ्ठा जग्गा भोगचलन गर्दै आइरहेको भेटिएको छ ।
‘सिमाङ्कन गर्ने क्रममा अन्दाजी ३० देखि ३५ मिटर खोलाको जमिन २ नम्बर वडा कार्यालयले अतिक्रमण गरेर भवन निर्माण गरिएको देखिन्छ,’ देवकोटाले भने, ‘पुङ्गी खोलामा दियालो फुडल्याण्डको मुख्य भवन भन्दा पछाडिको संरचनासहित करिब २ कठ्ठा परेको अनुमान छ ।’
देवकोटाका अनुसार खोला अतिक्रमण गर्ने घर टहराहरु ५० भन्दा बढि रहेका छन् । ३० भन्दाबढि स्थायी संरचना नै खोलामाथी परेको उनले जानकारी दिए । खोला साँघुरो बनाएर भोगचलन गरिएका जग्गा र घरहरुको टप, पर्खाल र आधा घरनै खोलामा परेको नापजाँच गर्दा भेटिएका छन् ।
साढे ६ किलोेमिटर लम्बाई रहेको खोलाको चौडाई विभिन्न स्थानमा ६ मिटर देखि ६५ मिटरसम्म रहेको देवकोटाले जानकारी दिए । रामघाटबाट पुंगी खोला सौन्दर्यकरणको काम सुरु भएको छ । एक महिनाभित्र सिमाङ्कनको काम सकिने उनले बताए ।
भरतपुर महानगरपालिकाले सिमाङ्कनको काम सकेपछि खोला अतिक्रमण गरि बनाइएका घर टहरा आफै हटाउन सूचना जारी गर्नेछ । ‘खोलामा परेका घरहरु आफ्नै तरिकाले वा कम क्षती हुने गरेर आफै हटाउनुहोस् भनेर हामीले सूचना निकाल्छौँ,’ देवकोटाले भने, ‘उहाँहरुले नभत्काएको खण्डमा यो परियोजना पूरा गर्न महानगरले डोजर लगाएर भत्काउँछ ।’
पुङ्गी खोलाको संरचना अनुसार कतै साघुँरो त कतै फराकिलो क्षेत्र नापजाँचको क्रममा फेला परेको महानगरका अमिन प्रविण खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार भरतपुर–३ र ४ को सिमानामा ६५ मिटर चौडाईमा पुङ्गी खोला फैलिएको छ ।
खोला सौन्दर्यकरण अन्र्तगत वृक्षरोपण, पैदल मार्ग, साइकल लेन, पार्क, विश्रामस्थल, खुला व्यायामशाला लगायतका संरचना निर्माण हुनेछन् । पुङ्गी खोला सौन्दर्यकरण गर्न पहिलो चरणमा दुई करोड ४९ लाख ६९ हजार रुपैयाँको काम हुँदै छ ।