सुनिता सुवेदी
चितवन । मकवानपुरको हेटौँडामा रहेको मानव निर्मित सहिद स्मारक पार्क पर्यटकीय गन्तव्यको रुपमा परिचित छ ।
विशेषत चितवन र मकवानपुर लगायतका छिमेकी जिल्लाबाट पर्यटकहरु यहाँ पुग्ने गर्छन् । पिकनिक स्पटसँगै फोटा खिच्न र घुम्नको लागि सुन्दर र रमणीय ठाउँ शहिद स्मारक पार्क पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।
शहिदहरुको सम्झनालाई ताजा बनाइरहन यो पार्क निर्माण गरिएको हो । १२ वटा सहिदको अर्धकदको शालिकबाट सुरु भएको पार्कलाई सहिदहरुको तीर्थस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको शहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । यहाँ २०४६ सालसम्मका सहिदहरुको शालिक रहेको छ । त्यसपछिका सहिदहरुको प्रतिनिधित्वका लागि एक पुरुष र एक महिलाको अमुर्त आकृति बनाइएको छ ।
चिडियाखानालाई घटाउँदै आकर्षक फाउण्टेन, अतिथि गृहहरु, गौतम बुद्धको जन्मको अवस्थाबारे जानकारी दिने सात मूर्ती लगायत विभिन्न संरचना निर्माण भइरहेको उनले बताए । ‘गौतम बुद्धले जन्मिदा नै सात पाइला चालेको सर्वमान्य ऐतिहासिक भनाई अनुसार माता मायादेवीसहित झण्डै १५ लाख लागतमा निर्माण गरेका छौँ,’ उनले भने ।
सहिदहरुको बारेमा अध्ययन गर्नको निम्ति सहिद अध्ययन तथा अनुसन्धान केन्द्रको समेत स्थापना गरिएको छ । सहिदहरुको बारेमा सूचना तथा जानकारीहरु संकलन गर्ने कामपनि भइरहेको उनले बताए । पार्कमा फुल र बगैँचा लगायत विभिन्न संरचना थप गरेर व्यवस्थित गर्दै लैजाने तयारी भइरहेको उनी बताउँछन् । जातीय संङ्ग्रालय पनि निर्माण भइरहेको छ ।
पार्कबाट आम्दानी भएको रकमले पार्क व्यवस्थापन गर्न पुगिरहेको उनले जानकारी दिए । वार्षिक पाँच लाख भन्दाबढि पर्यटक यहाँ पुग्ने गरेका छन् । जसबाट वार्षिक करिब दुई करोड रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए ।
पार्कभित्र १२ जना सहिदहरुको आकृति एउटै शिलामा कुँदेर स्थापना गरिएको छ । पछिल्लो समय पर्यटकलाई आर्कषण गर्न बगैँचामा पुतलीलगायत विभिन्न आकारमा फुलहरु रोपिएको छ । थप आर्कषणको लागि पार्क परिसरमा गौरीशंकर हिमाल र गाईको मूर्तीसमेत राखिएको छ । २०५१ सालमा मनमोहन बाटीकाको स्थापना गरिएको थियो ।
त्यस्तै पार्कभित्र सहिद ग्यालरी, सहिद स्मृति स्तम्भ, नमुना चिडियाघर, मदनबाटिका, बाल उद्यान, पौडीखेल्ने पोखरी, पानीको फोहरा, झोलुङ्गे पुलले रौनकता छाएको छ । प्रजातान्त्रिक योद्धाहरु पुुष्पलाल, विपि कोइराला, गणेशमान र मनमोहनको पूर्ण कदको शालिकसहितको उद्यान समेत यहाँ अवलोकन गर्न सकिन्छ ।