चितवन । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा १२औँ संस्करणको रत्ननगर महोत्सव आजदेखि सुरु भएको छ । रत्ननगरकाे टिकाैली चाैरमा भएकाे महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले महोत्सवले आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘देशको चार वटा महत्वपूर्ण महोत्सव मध्ये रत्ननगर महोत्सव पनि पर्छ । भविश्यमा चार वटा महोत्सव मध्ये पहिलो नम्बरमा रत्तननगर महोत्सव आउन सकोस् भनी शुभकामना दिन चाहन्छु ।’
उद्घाटन अघि बिहान रत्ननगर २ नेपाल माध्यमिक विद्यालयको चौरबाट विभिन्न संघसंस्था तथा हात्तीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा पूर्वीचितवनको थारुसमुदायसहितका विभिन्न जातीय तथा धार्मिक समुदायको झाँकीहरु प्रदर्शन गरिएका छन् । यस महोत्सवमा चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै बालीको संरक्षण र प्रवद्र्धनकालागिमहोत्सव स्थलमा मकै बाली स्थापनातथा मकैको स्टाच्यु निर्माण गरिएको छ ।
महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी दिइएको छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । पर्यटन विकासअन्तर्गत खगेरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको छ । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्यअनुसार महोत्सवको अवधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो । महोत्सवमा २०० रूपैयाँ तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द लिन सकिने व्यवस्थागरिएको छ ।
माघ ८ गतेसम्म चल्ने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीनलाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।










