काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको एक वर्ष कार्यकाल पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता गरे पनि मुलुककै ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपति पद खाली भएको दुई महिना पुग्न लाग्दासमेत दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति हुन नसकेको यथार्थ छ।
गठबन्धन सरकारले त्रिविसहित अन्य विश्वविद्यालयका माथिल्ला पद राजनीतिक भागबन्डा गरी नियुक्ति गर्ने रणनीति बनाएको छ। अन्य विश्वविद्यालयका उपल्ला पदसमेत खाली भएपछि सत्ता गठबन्धन दलबीच एकैपटक भागबन्डा गर्ने रणनीतिअन्तर्गत त्रिविमा उपकुलपतिलगायतको नियुक्ति प्रक्रिया अड्काइएको हो।
सरकारले अन्य विश्वविद्यालयमा पनि रिक्त हुने माथिल्ला पदहरूलाई ‘एउटै डालो’मा राखेर भागबन्डा गर्न त्रिविमा उपकुलपतिलगायत नियुक्तिमा ढिलाइ गरिरहेको निवर्तमान रजिस्ट्रार प्राध्यापक पेशल दहालले बताए। दाहालको चार वर्षे कार्यकाल यही पुस ८ सकिएको हो।
दाहालका अनुसार सरकार अन्य विश्वविद्यालयमा पनि पद रिक्त हुने समयको पर्खाइमा छ। त्रिविमा उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न शिक्षामन्त्रीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले दुई महिनासम्म पनि प्रक्रिया अघि नबढाउनुमा यही रणनीति लुकेको उनको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।












