काठमाडौँ। काठमाडौँमा एउटा अनौठो घटना भएको छ। चिया खान आएका एक व्यक्तिले चिया पसलबाटै २ वर्षीया बालिका टिपेर टाप कसेका छन्।
चिया पसलेले आफ्नो बालिका लिएर गएको दावी गर्दै आएको र बालिका लैजाने व्यक्तिले पनि आफ्नो बालिका पसलेले लगेकाले आफूले फिर्ता ल्याएको बताएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने बालिका चिया पसलेकै भएको बताइन्छ।
यद्यपि उक्त विषयमा अनुसन्धान जारी छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ती व्यक्तिको कुरा सुन्दा केही मानसिक समस्या हो की भन्ने लागेर परीक्षण गर्न लागिएको बताउँछ ।
‘अनुसन्धानपछि यकिन हुन्छ, अहिले दुवैले आफ्नो बच्चा भनेर दावी गरिरहेका छन्,’ कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने।
घटना दुई दिन अघिको हो। गौशालाको एक चिया पसलबाट एक व्यक्तिले दुई वर्षीया बालिका टिपेर हिँडे। खोज्दै जाँदा बालिका लैजाने रामेछापको मन्थलीका राज नेपाल रहेछन्। उनी टेलर सञ्चालन गर्ने व्यक्ति भएको खुलेको छ।
उनले गौशालास्थित पशुपति जाने गेट अगाडिबाट बालिका लैजान पठाओ प्रयोग गरेका थिए। बालिकालाई प्रहरीले उनकै साथबाट सकुशल उद्धार गरेको छ भने उनलाई नियन्त्रणमा लिएको छ। उनीमाथि बालिका अपहरणको आरोप लगाइएको छ।
प्रहरीका अनुसार बालिकाका अभिभावकको पशुपति गेटमा चिया पसल छ। उनी त्यहाँ सधैँ चिया खान आउने गरेका थिए।
चिया खान आएकाले जबरजस्ती बालिका लिएर गए भनेर पीडित परिवारले जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएकामा बालिकालाई सकुशल उद्धार र उनलाई पक्राउ गरिएको हो।
खोजतलासका क्रममा भक्तपुरको दधिकोट नजिक बालिका र उनलाई फेला परिएको प्रहरीले बताएको छ। उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। भोलि काठमाडौँ परिसरलाई बुझाउने तयारी छ।












