चितवन । भरतपुर महानगरपालिकाले ‘बालकालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत एक हजार विद्यार्थीलाई न्यायो कपडा वितरण गरेको छ । चिसो बढ्ने क्रम सुरु भएसँगै भरतपुरका तटिय क्षेत्र पर्ने विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
चिसोका कारण बालबालिका घरमै बस्नु पर्ने समस्या नहोस् भन्ने उदेश्यले बाल विकास कक्षा देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२६ मा रहेको रातापुर आधारभूत विद्यालयबाट न्यानो कपडा वितरण सुरुवात गरेकी हुन् । बालबालिकासँग मेयर कार्यक्रम ५ वर्षदेखि सञ्चालनमा छ ।
दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत चार वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताइन् ।
किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको उनले जानकारी दिइन्।
यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका विद्यालयका १ हजार बालबालिकालाई वितरण गरिएको महानगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।
यसअघि ४ वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।












