काठमाडौँ। चितवनको सौराहामा भइरहेको हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन्।
चितवनको सौराहामा मंगलवारदेखि शुरु भएको सत्रौँ संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधवार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीको प्रतिस्पर्धा शुरु भएको हो।
हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकली सहभागी छन्। पाँचजनाको निर्णायक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ।
महोत्सवस्थल सौराहामा प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए। उनले नङ फुटेरनफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए।
उनले निर्णायक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गते मात्रै निर्णय गर्ने बताए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताए।
उनले मानिसमा जस्तै जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रूपमा अघि बढाएको बताए।
उनले कोरोनाभन्दा अघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको बताए। कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरू भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको बताए।












