चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा प्रकास शरण महतले एक समारोहका बीच उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिर्वतन गर्ने बेला भएको बताए । उनले पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनता बीचको दुरी बढाउने काम गरेकाले समय अनुसार यसको परिर्वतन आवश्यक रहेको बताए । अर्थमन्त्री महतले निकुञ्ज ऐन परिर्वतनको लागि सरकारी पहल सुरु गर्ने प्रतिबद्धता जनाए ।
‘निकुञ्ज ऐनको विषयमा धेरै विरोधहरु आएका छन्’, उनले भने, ‘अब समयसापेक्ष ऐन परिर्वतन जरुरी हुन्छ ।’ निकुञ्ज जनताको लागि र जनता निकुञ्जको अवधारणको विकास नगरी जैविक विविधताको संरक्षण हुन नसक्ने भन्दै उनले दुवै आवश्यक रहेको आभाष दिलाउने गरी ऐन परिर्तन हुनुपर्ने बताए। निकुञ्ज ऐनले स्थानीय विकास निर्माण र समुदायको विकासमा बाधा हुन नहुने भन्दै अर्थमन्त्री महतले पुरानो ऐनले जनता र निकुञ्ज बीचको दुरी बढाएको आफुले पाएको बताए ।
कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले सरकारले स्रोत बाँडफाँडमा पूर्वी चितवनलाई विभेद गरेको बताए ।
प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको नेपालको व्यवसायलाई पुर्नजीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गरे ।
रत्ननगरका मेयर प्रलाद सापकोटाले सौराहामा १४ करोड २४ लाखको लगानीमा सुरु गरिएको नमुना सडकको काम बजेटका कारणले रोकिन सक्ने अबस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपनिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशुप्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका बरिष्ट रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको छ ।
महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सवका संयोजक तथा संघका उपाध्यक्ष ओमप्रकार पाण्डेले महोत्सव आयोजना गर्नुको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।












