काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सुन तस्करीको संरक्षण गरेको आरोप लगाएका छन्।
सोमबार चितवनका नारायणगढमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले सुन तस्करहरुको प्रमाण दिँदा पनि कारबाही नगरेर गृहमन्त्री आफैँले तस्करको संरक्षण गरेको आरोप लगाएका हुन्। उनले सुन तस्करीको प्रमाण आफूले सिंहदरबारस्थित गृहमन्त्रीकै क्याबिनमा पुगेर देखाएको दाबीसमेत गरे।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणगढबाट बुटवलसम्म पैदलयात्रा सुरु गरेको छ। नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले आजदेखि दबाबमूलक पैदलयात्रा सुरु गरेको हो।
‘रास्वपाको दबाबयात्रा’ नाम दिइएको पैदलयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सुरु भएको हो। ३ दिनसम्म चल्ने यात्राका क्रममा ११३ किलोमिटर दूरी पार गरिने रास्वपाले जनाएको छ।
यात्रामा सभापति लामिछानेसहितका नेता र सांसदहरू सहभागी छन्।











