सुनिता सुवेदी
चितवन । चितवन जिल्ला अदालतमा दर्ता भएका बाल यौन दुर्व्यवहारका मुद्धामध्ये आधाजसाेमा आरोपितले सफाई पाएका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म जिल्ला अदालतमा बालयौन दुर्व्यवहारका १४ वटा मुद्धाकाे फैसला भएकाे छ । जसमध्ये ७ वटा मुद्धामा प्रमाण नपुगेको भन्दै आराेपीले सफाई पाएका हुन् ।
सरकारी वकिलको कार्यालय चितवनका प्रमुख एवम् जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुईँटेलका अनुसार पीडित नाबालिका तथा जाहेरीवाला होस्टाइल हुँदा फैसला प्रभावित हुने गरेको छ । पीडितलाई दबाब, प्रभाव र आर्थिक अवस्थाको कारण र समाजमा पुर्नस्थापना सहज नहुने डरले पनि पीडित होस्टाइल हुने गरेको उनी बताउँछन् ।
सरकारी वकिलको कार्यालयबाट अनुसन्धान सकेर अदालतमा दर्ता भएका बालयाैन दुर्व्यवहारका २० प्रतिशत मुद्धाकाे फैसला मात्रै मागदाबी अनुसार हुने गरेको उनले बताए । ‘हामीले अनुसन्धान गरेर यथस्ट प्रमाण जुटाउँछौ, जाहेरवाला र पीडितको कागज गरेको बकपत्रपनि प्रतिकुल हुन्छ,’ उनले भने, ‘अदातलमा मुद्धाको फैसला हुनेबेलासम्म पीडित र जाहेरवाला होस्टाइल भइसकेका हुन्छन् ।’
चितवन अदालतका श्रेस्तेदार विष्णु प्रसाद आचार्यका अनुसार कतिपय मुद्धामा पीडित होस्टाइल हुँदा फैसला प्रभावित हुने गरेका छन् । ‘उजुरी दिन आउँदा पीडित भएकै हो भनेर आउने, मुद्धा अनुसन्धान भइरहँदा पीडितलाई प्रभावमा पार्ने गतिविधि हुने र पीडितले प्रतिकुल वयान दिने गर्दा मुद्धाको फैसलामा प्रभाव पार्ने गर्छ,’ आचार्यले भने ।
एउटै व्यक्ति विरुद्ध बालयौन दुव्र्यवहारका तीन वटासम्म मुद्धा दर्ता भएका छन् । तीमध्ये एउटामा सफाई पाउँदा अरु दुई मुद्धामा कैद र जरिवाना तोकिएको छ । कुनै आरोपीले भने दर्ता भएका तीन वटै मुद्धामा सफाई पनि पाएका छन् ।