चितवन । भरतपुरको ४.४ किमी सडक विस्तारको काम सुरु भएको पाँच वर्ष भइसक्यो । दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्ष पुग्दा पनि अझै सकिएको छैन । ठेकेदारले विभिन्न बहाना बनाएर सडक विस्तारको काम ठप्प पारेको छ । कसको संरक्षणमा ठेकेदारले यतिधेरै ढिलासुस्ती गरिरहेका छन् भनेर जनता अनभिज्ञ छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केहि समय अगाडि एक कार्यक्रममा बाइपास सडक विस्तारको जिम्मा पाएको ठेकेदारले आजित बनाएको बताएकी थिइन् ।
सडक डिभिजन भरतपुरका इन्जिनियर भने विद्युत् र खानेपानीले समन्वय नगर्दा ढिला भएको बताउँछन् । बाइपास सडक विस्तारको काम डेढ वर्षदेखि ठप्प छ । त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले झनै ढिलासुस्ती गर्दै आएका छन् ।
बनाइसकेको पिच भत्किन सुरू भइसकेको छ । ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । बाइपास सडक विस्तारको काम दुई चरणमा गर्न लागिएको हो । पारस बसपार्क चोकदेखि विशालचोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशालचोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् ।
बसपार्क चोक–विशालचोक खण्डको काम डेढ वर्षदेखि ठप्प छ । बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ । यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ । बाँकी काम कहिले सुरू हुन्छ भन्नेमा सरकारी निकाय सडक डिभिजन भरतपुर नै स्पष्ट छैन ।
सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायले पहिला छलफल गरेर काम अगाडि बढाउनुपर्ने सडक डिभिजनका इन्जिनियर सागर कार्की बताउँछन् । १५ महिनामा सक्नुपर्ने यस खण्डको काम पाँच वर्षमा ९० प्रतिशत पुगेर अड्किएको उनले बताए । विद्युत् प्राधिकरणले नालीमा पर्ने बिजुलीका पोल नहटाउँदा सडक विस्तारको काम ठप्प भएको उनको भनाइ छ ।
विद्युत्ले पोल नहटाउँदा सडक डिभिजनको कार्यालयअगाडि नै दुर्घटना भइरहेका छन् । त्यहाँ विद्युत्ले नयाँ पोल गाडिसकेको छ, तर पुराना पोल हटाएको छैन । ‘सडक निर्माणका लागिमात्रै भनेर हामीलाई पैसा आउँछ, हामीलाई पोल सार्न पनि भनिन्छ । पोल सार्नमात्रै योजनाको झन्डै ४० प्रतिशत लाग्छ’, उनी भन्छन्, ‘पोल सार्न भनेर पैसा मागे पनि माथिबाट पाउन गाह्रो छ, यो समस्याले गर्दा काम गर्न सकिएको छैन ।’
बाटोमुनि खानेपानीको पाइप भएकाले ठाउँ–ठाउँमा पिच भत्किएको उनले बताए । ‘जहाँ–जहाँ खानेपानीको पाइप फुटेको छ त्यहाँ–त्यहाँ पिच भत्किएको छ । भत्किएको ठाउँमा हामीले मर्मत गरिरहेका छौँ’, उनले भने । स्थानीयले आआफ्ना घरअगाडि जेब्राक्रस र गाडी घुमाउने ठाउँ राख्न दबाब दिँदा मेडियनलाई पूर्णता दिन नसकिएको उनले बताए ।
४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो ।
दुई वर्षमा सक्नुपर्ने विशालचोक–आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ३० प्रतिशत भएको छ । यस खण्डको म्याद २०७८ फागुनमा नै सकिएको हो । त्यसपछि ठेकेदारले मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर विस्तारको काम रोक्यो ।
सरकारले गएको साउनमा २०८० असारसम्मका लागि म्याद थपिदिएको छ । २६ करोड रूपैयाँ लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो । यस खण्डमा अहिले बेसको काम भइरहेको छ । २०७७ असोजमा सम्झौता भएको सडकखण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन ।











