भरतपुर । नवरात्रीको सातौं दिन आज फूलपाती । घर–घरमा स्थापना गरिएको नवदुर्गा एवम् दशैँ घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ । दशैँको टिका थाप्न आ–आफ्नो घर फर्किने क्रम आजबाट तीव्र भएको छ ।
असोज १० गते घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।
अघिल्ला दिनहरुको तुलनामा शनिबारदेखि नारायणगढका बजारमा दशैँको लागि किनमेल गर्नेको घुँइचो बढेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । ‘बजारमा किनमेल गर्नेको संख्या शनिबारदेखि बढेको छ’, अधिकारीले भने, ‘गाडीको संख्या भन्दा पैदलै आउने सर्वसाधारणको संख्या बृद्धि भएको छ । कपडा किनबेच हुने बजारमा सर्वसाधारणको बढी भिडभाड लागेको छ ।’ मिलनरोड, शहिद चोक, कमलनगर, पुतलीबजार, लायन्सचोक लगायतका स्थानमा सर्वसाधारणको भिडभाड बढेको उनले बताए ।
सर्वसाधारणको भिड बढेपछि मिलनरोडमा पटक–पटक जाम हुन थालेको छ । ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर र नारायणगढ क्षेत्रमा ३७ जना ट्राफिक प्रहरी खटाएको अधिकारीले बताए । कपडा पसलमा ग्राहकले ठेलमठेल गर्दै किनमेल गर्ने अवस्था बनेको छ ।













