चितवन । चाडपर्व नजिकिएसँगै हुने सवारी दुर्घटना न्युनिकरण तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा आजदेखि टाईमकार्ड लागु गरिएको छ ।
चाडपर्वमा सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तिब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्ने भएकोले टाईम कार्ड लागु गरिएको बागमती प्रदेश कार्यालय प्रहरी वरिष्ठ उपरिक्षक तथा सूचना अधिकारी दिपक रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार चाडपर्वलाई लक्षित गरी मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु गरिएको हो । सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा भने पहिलेदेखिनै टायमकार्ड लागु भएको रेग्मीले जानकारी दिए ।
थप टायमकार्ड लागु भएका राजमार्गहरुमा मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडा देखि चितवन सम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङ देखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङ सम्म थप गरिएको उनले बताए । टायमकार्ड लागु गरिएका उल्लेखित राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएको सूचना अधिकारी रेग्मीले बताए ।
टाईम कार्ड वितरण तथा चेकिङका लागी चितवनका पाँच ठाउँ लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र फिस्लिङमा ट्राफिक चेक पोष्ट राखिएको छ । टाईम कार्डमा उल्लेख गरिएभन्दा छिटो सवारी साधन चलाउनेलाई ५०० देखि १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने चितवन ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
उनका अनुसार फिस्लिङ–मुग्लिन (१६ किमी) २५ मिनेट, मुग्लिन–आँपटारी (३४ किमी) एक घण्टा र मुग्लिन–गोन्द्राङ (४१ किमी) एक घण्टा पाँच मिनेट भन्दा छिटो पुग्नु हुँदैन । त्यस्तै गोन्द्राङ–लोथर (३० किमी) ५० मिनेटभन्दा कम समयमा पुगेमा जरिवाना लाग्ने अधिकारीले जानकारी दिए । ‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने भनाईलाई ख्याल गर्दै तीव्र गतिका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि टाईम कार्ड लागु गरिएको हो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एंव प्रहरी उपरीक्षक नवराज अधिकारीले शुक्रबार लोथरमा यात्रुबाहक बसका चालकलाई चालकलाई फूलको माला र खादा ओढाएर टाईम कार्ड हस्तान्त्रण गर्दै टाईम कार्ड उद्घाटन गरेका हुन् । ‘दशैँ मनाउनका लागि हिँडेका यात्रुले दशा व्यहोर्नु नपरोस् । चालकले गन्तव्य स्थलमा छिटो पुर्याउँछु भन्दा हुने दुर्घटना नियन्त्रण गर्न टाईम कार्ड लागु गरिएको हो,’ उनले भने ।











