–सुनिता सुवेदी
चितवन । चितवन राष्ट्रिय निकुञ्जकाे पूर्वी क्षेत्रमा पर्ने चपरचुलीमा खाल्डोमा पारी दुई वटा गैँडाको खाग तस्कर गरेकाे आराेपमा आठ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्ति सार्वजनिक गरेकाे हो ।
नेपाली सेना, केन्द्रिय अनुसन्धान व्यूरो र चितवन राष्ट्रिय निकुञ्जकाे समन्वयमा खाग तस्करमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धु प्रसाद ढुङ्गानाले चाडपर्वमा कर्मचारीहरू विदामा बसेकाे माैका पारी गैँडा मारिएको बताए । घटना हुनुपूर्व एक हप्ता अगाडिदेखि गैँडा खाडलमा परेको ठाउँमा गस्ती नपुगेको उनले स्वीकार गरे ।
‘गस्तीको प्रणाली चुस्त बनाउँदा बनाउँदै सबै ठाउँमा जुनसुकै समयमा पुग्न सकिने अवस्था नहुन सक्छ,’ उनले भने, ‘घटना भएको सात दिन अगाडि गस्ती त्यहाँ गएको थियो, त्यसपछि ३० गते गस्ती त्यहाँ पुगिहाल्यो ।’
छानविन टोलीले तयार पारेको अनुसन्धान प्रतिवेदनका अनुसार तस्करहरुले सातवटा खाल्डो खनेर माथीबाट गैँडालाई मनपर्ने घाँसले ढाकेका थिए । सातवटा मध्य दुईवटा खाल्डोमा गैँडा खसेका थिए ।
‘तस्करहरु एक किलोमिटर टाढा बसेर ढुकेको र मरेपछि खाग लगेको भन्ने छ,’ महानिर्देशक ढुङ्गाना भन्छन्, ‘उनीहरू बसेकाे ठाउँमा पानीको बोतल, चाउचाउका प्लाष्टिक भेटिनुको साथै सानो मचान बनाएर बसेको भेटिएको छ ।’
अहिले पक्राउ परेका सबैलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुनले जानकारी दिए । अनुसन्धान गर्दै जाने क्रममा अरु पनि संलग्न भएमा समाउँदै जाने पुनले जानकारी दिए ।
आरोपित आठ जना मध्ये मंसिर ९ गते छ जना र मंसिर ११ गते दुई जना पक्राउ परेका हुन् । खाग तस्करका मुख्य योजनाकार हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षिय रमेश खाती मंसिर ९ गते राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् । खाती यसअघि पनि शंकास्पद रहेकोमा पक्राउ परिसकेका थिए ।
अर्का मुख्य योजनाकार तथा गैँडाको खाग बिक्रि वितरण गर्ने आरोपमा मनहरी गाउँपालिका–६ नयाँ बस्ती बस्ने ५६ वर्षिय थिङ बाजे भन्ने सिताराम थिङ, गैँडा मार्ने शिकारीको आरोपमा राप्ती नगरपालिका–११ ठाकलटार बस्ने ४२ वर्षिय पाशाङ भन्ने आईते सिंह मोक्तान, बिक्रि वितरण तथा सहयोग गर्ने आरोपमा मकवानपुर जिल्लाको राकसिराङ गाउँपालिका–९ घर भई हेटौँडा–४ बस्ने ४४ वर्षिय समशेर थिङ पक्राउ परेका छन् ।
गैँडाको खाग बिक्रि वितरणमा सहयोग गरेकाे आरोपमा रोल्पा जिल्लाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हेटौँडा–५ बस्ने २८ वर्षिय अर्जुन रोका र खाग बिक्रि वितरण गरेकाे आरोपमा गोरखा वारपाक घर भई भरतपुर–११ लामाटोल बस्ने ७७ वर्षिय घले भन्ने धन बहादुर गुरुङ मंसिर ९ गते पक्राउ परेका हुन् ।
त्यस्तै मंसिर ११ गते गैँडा मार्ने शिकारीको आरोपमा चितवनको कोराक घरभई राप्ती–११ थाकलटार बस्ने ४० वर्षिय उन बहादुर स्याङतान र मनहरी–७ ज्यामिरे घर भई माडी–९ बाँदरझुला बस्ने ५६ वर्षिय स्याङ्बो भन्ने ईन्द्र बहादुर तामाङलाई राप्ती नगरपालिका–५ बाट पक्राउ गरिएको ढुङ्गानाले जानकारी दिए ।
उनीहरुको साथबाट दुई थान गैँडाको खाग , कालो झोला, भरुवा बन्दुक, बिड नभएको बञ्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा, गुलेली, टर्च लाईट, घरमा बनाएको झोला, डिक्ची, पटका बारुद, दुई वटा ब्याङ्केट र दुई वटा मोटरसाईकल समेत बरामद भएको विभागका महानिर्देशक ढुङ्गानाले जानकारी दिए ।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर अन्दाजी १८ र छ वर्षका दुईवटा पोथी गैँडा मारिएका थिए ।