कास्की। विभिन्न ११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन्।
उनले पाँच स्टेज (ट्रयाक) को ११.९२० किलोमिटरको दूरी नौ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे। विभिन्न सात विधामध्ये इलिट पुरुषतर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल पाएका छन्।
यही विधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए।किलिङले सोही दुरी १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरे भने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गर्न सके।
यससँगै किलिङले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार रुपैयाँ सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
महिलातर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी शेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गरेका छन्।
अर्को विधा १८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका विपुल थापा प्रथम भएका छन्। उनलाई पछ्याउँदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भएका छन्।
३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो भएका छन्। अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्की दोस्रो र नारायण मानन्धर तेस्रो भएका छन्।
५० वर्षभन्दा माथिका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र शैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन्।
नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भए भने विश्वास मोदी दोस्रो भए। प्रतियोगितामा नेपालसहित ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।











