काठमाडौं। नेपाल पनि सहभागी हुने आईसीसी अन्डर नाइन्टिन पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको मंगलबार बसेको बोर्ड बैठकले श्रीलंकालाई दिएको विश्वकप आयोजना अधिकारी खोसेको हो।
प्रतियोगिता अब आगामी जनवरीमा दक्षिण अफ्रिकामा हुने छ। श्रीलंका क्रिकेट बोर्ड अहिले निलम्बित छ। सोही कारण आईसीसीले उसको अन्डर नाइन्टीन विश्वकप आयोजना अधिकार खोसेको हो।
बैठकले श्रीलंका क्रिकेटका प्रतिनिधिहरूको बयानपछि उसलाई द्विपक्षीय क्रिकेट र आईसीसी प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न भने अनुमति दिएको छ।
श्रीलंका क्रिकेटको बजेट कोष र आफूले दिने अनुदान पनि आईसीसीले नियन्त्रणमा लिएको छ।
श्रीलंका सरकारले क्रिकेट बोर्डका पदाधिकारीलाई बर्खास्त गर्दै नयाँ पदाधिकारी नियुक्त गरेपछि आईसीसीले नोभेम्बर १० मा श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो।











