काठमाडौँ । काठमाडौँ प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि आजदेखि निशेधाज्ञा जारी गरेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क)अनुसार, सो निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने आज जारी निषेधाज्ञामा उल्लेख छ।
शितलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म र बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ।
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले यही ७ गते शक्ति प्रदर्शन गर्न लागेपछि प्रशासनले उक्त निर्णय गरेको हो। यसअघि माइतीघर क्षेत्र र ललितपुरको पुलचोक क्षेत्रलाई निषेधाज्ञा जारी गरिसकिएको छ।












