बाँके । बाँकेमा प्रहरीले गोली चलाएको छ।
एक फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान पौने ११ बजेतिर जानकी गाउँपालिका वडा नम्बर ४ मा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले बताए।
प्रहरीले आकाश रानालाई पक्राउ गरेको हो। उनको तिघ्रामा गोली लागेको छ। घाइते भएका उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन्। कात्तिक ३० गते बिहान ३ बजे कोहलपुरमा उनीसहित केही व्यक्तिहरूले मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट विक गम्भीर घाइते छन्। उनको भारतको लखनऊस्थित अस्पतालमा उपचार भइरहेको छ।











