–सुनिता सुवेदी
चितवन । सुगम जिल्लाका रुपमा चिनिने चितवनको केहि वडा अहिले पनि अन्धकारमै छन् । विजुली नपुग्दा उज्यालोको पर्व तिहारमा पनि इच्छाकामना गाउँपालिका–२ का जनता अन्धकारमै बस्नुपरेको छ । यो वडा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का सांसद रवि लामिछानेको क्षेत्रमा पर्छ ।
इच्छाकामना–२ मायाटारका बासिन्दाहरु बर्षौदेखि उज्यालोको प्रतिक्षामा दिनहरु बिताइरहेका छन् । इच्छाकामना पहाडै पहाडले घेरिएको गाउँपालिका हो । इच्छाकामना–२ को मायाटार लगायत घुर्केश, दुम्किम, थापथली, बायोडाँडा, रमाइलो डाँडा, भोर्ले, धानबासे, कालडाँडे लगायतका गाउँहरुमा अझैसम्म विजुली पुगेको छैन ।
मायाटारमा केहि वर्ष अगाडि सोलार बत्ती पुगेको थियो । सोलारले एकैछिन खाना पकाउन र खाना खानसम्मलाई पुग्छ । चेपाङ समुदायले त खर्च पु¥याउन नसकेर सोलार राख्न पनि सक्दैनन् । मायाटारको राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ५ मा पढ्छन् कुशल प्रजा । गाउँमा बिजुली नहुँदा साँझ परेपछि पढ्न समस्या भइरहेको उनको अनुभव छ । ‘बिजुली नहुँदा स्कुलबाट आउँदा बित्तिकै होमवर्क गर्नुपर्छ नत्र अध्याँरो हुन्छ,’ उनले भने, ‘छिट्टै विजुली आए त उज्यालो हुन्थ्यो भन्ने भएको छ ।’
सांसद लामिछानेले आफ्नो क्षेत्रमा विजुली पु¥याउने सहितको चुनावी एजेण्डा अगाडि सारेका थिए । अझैसम्म पनि गाउँमा बिजुलीका पोल अलपत्र अवस्थामा छरिँदा लामिछानेका मतदाता असन्तुष्ट छन् ।
मायाटारकै ६५ वर्षीय दलबहादुर प्रजाले बिजुली ल्याउँछु भन्दै नेताहरुले पटक पटक आश्वासन दिएर धोका दिएको गुनासो गरे । ‘रविले बिजुली ल्याइदिने भनेर हामीले भोट हालेका हौँ । कस्ता छन् रवि ? तपाइले देख्नुभएको छ ?’ उनले भने ।
उनको घरमा एउटा सोलार बत्तीपनि छ । मधुरो बल्ने सोलारले साँझमा खाना बनाउन सहज बनाएको छ । साँझमा बाहिर निस्कनु परेमा टर्च लाइट नै खाँचो पर्छ । सोलार बत्तीले एकैछिन उज्यालो दिएपनि उनीहरुको मन भने उज्यालो बनाउन सकेको छैन । सोलारको एउटा व्याट्रि फेर्न ८ हजार रुपैयाँ भन्दा बढी लाग्ने भएकाले पनि चेपाङ लगायतका विपन्नहरुले सोलार बाल्न सक्दैनन् ।
‘दशैँसम्म आउँछ भनेर हल्ला गरेका थिए अहिले तिहार पनि आइसक्यो हामीलाई उज्यालो छैन,’ उनले भने, ‘वर्षौदेखि अँध्यारोमा दिन बिताएका छौँ, कुनैदिन त उज्यालो आउला भन्ने आश छ ।’
मायाटारमा पर्यटकिय गतिविधि बढ्दै गएको छ । नजिकै पर्ने उपरदाङगढी र पाथिभरा सिंहदेवी मन्दिरका कारण यहाँ पर्यटकको चहलपहल बढेको हो । युएईबाट ४ वर्ष अघि गाउँ फर्किएको टिका गुरुङले विगत २ वर्षदेखि होमस्टे सञ्चालन गर्दै आइरहेका छन् । विजुली नहुँदा होमस्टे सञ्चालन गर्न पनि कठिन भएको उनी बताउँछन्।
उनले होमस्टेमा सोलार जोडेका छन् । तर, त्यो पर्याप्त हुँदैन । दशैँ अगाडि नै बत्ति बाल्ने भनिएकोमा तिहारमै पनि आफुहरु अन्धकारमा बस्नुपरेको भन्दै उनी आक्रोशित देखिए । ‘भोट माग्ने बेलामा ढोग्न आउने अरुबेला वास्ता नगर्ने नेता हामीलाई चाहिँदैन । जुनसुकै नेता आएपनि हामीलाई बिकास चाहिएको हो’, उनले भने । पछिल्लो पटक ठेकेदारले चैतसम्म बिजुली बल्ने आश्वासन दिएर गएको उनले बताए ।
जनप्रतिनिधिको अघिल्लो ५ वर्षे कार्यकालमा नै बत्ती बाल्ने भनेर ठेकदारसँग सम्झौता भएको थियो । काम नगर्ने ठेकेदारलाई कारबाही गरेर भरतपुर वितरण केन्द्रले नयाँ ठेक्का आह्वान गरेको थियो । गत जेठ ३१ गते झारेको बिजुलीका पोलहरु अहिले खोला, जंगल, बाटो र खेतबारीमा अलपत्र अवस्थामा छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले चाडबाड र बर्खाले सामान ढुवानीमा समस्या भएकाले काम रोकिएको बताए । ‘मंसिर लागेसँगै काम सुरु हुन्छ, माघसम्म गाउँमा बिजुली बाल्ने हो,’ पौडेलले भने, ‘अब बाधा छैन । काम सरासर हुन्छ ।’ विद्युत विस्तारका लागि ठेकेदारलाई पुष मसान्तसम्मको म्याद दिइएको उनले बताए ।
सांसद रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले छिटो काम सुरु गर्न ठेकेदारलाई ताकेता गरिरहेको बताए । ‘हामीले ठेकेदारलाई भनिरहेका छौँ । अब तिहार लगत्तै काम सुरु हुन्छ,’ सिग्देलले भने, ‘आगामी मंसिर ४ गते हामी पनि स्थलगत भ्रमणको लागि मायाटार जाँदैछौ ।’
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आफुले पाउनुपर्ने रकम नपाएको भनि ठेकेदारले काम अघि नबढाएको बताए । ‘ठेकेदारले विद्य्त्बाट रकम भुक्तानी पाएन भनेको छ,’ उनले भने, ‘काम सक्नुस्, पैसा पाइन्छ, काम नगर्ने, वर्षौ लगाउने, म्याद थप्दै बस्ने काम नगर्नुस् भनेको छु ।’
इच्छाकामना–२ का वडाअध्यक्ष पञ्च चेपाङले पनि कामदारहरुले ज्याला नपाएकोले बिजुलीका पोल अलपत्र परेको बताए । ‘तिहारपछि जसरी भएपनि काम सुरु हुन्छ,’ उनले भने, ‘ठेकेदारले नगरेपनि मैले जसरीपनि पोल गाड्न लगाएर काम अगाडि बढाउँछु ।’