काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रूपमा सरकारले क्रिकेट रङ्गशाला निर्माण गर्ने बताएका छन्।
नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार मंगलबार वितरण गर्दै उनले भने, “भरतपुर, मुलपानी र कीर्तिपुरको क्रिकेट रङ्गशालालाई चाँडै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौँ।”
“सबैभन्दा पहिला तपाईंहरूलाई बधाई छ। तपाईंहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुभएको छ”, प्रधानमन्त्री दाहालले थपे, “दश वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला।”
नेपाली क्रिकेट टोलीले छनोट चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाली जनता र युवाको लगाव बढेको बताए।
खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउनसक्ने एउटा महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै प्रधानमन्त्रीले त्यसमा पनि क्रिकेटको भूमिका मुख्य रहेको उल्लेख गरे। उनले भने, “क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सम्भवत छिट्टै अगाडि बढाउँदै छौँ । यसरी मात्र आम नेपाली खेलप्रेमी जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ।”











