चितवन । नेपालीहरुको दोस्रो महान चाड तिहारलाइ लक्षित गरी चितवनमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको खुद्रा मूल्य प्रति माला १०० रुपैयाँ र प्रति किलाे ५०० रुपैयाँ निर्धारण गरिएकाे फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवन (फ्यान) ले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै फ्यानका अध्यक्ष तेजेन्द्र सापकोटले चितवनमा यस वर्ष ५० विघा क्षेत्रफलमा गरिएको सयपत्री फूल खेतीबाट साढे २ लाख देखि ३ लाखसम्म माला उत्पादन गर्न सकिने बताए ।
‘सजावटमा अत्याधिक माग भएको खण्डमा हाम्रो उत्पादनले नपुग्ने स्थिती छ,’ सापकोटाले भने, ‘तिहारमा मात्रै चितवनमा ४ लाख मालाको आवश्यकता हुने अनुमान गरिएकाले करिब २५ प्रतिशत माला अन्य ठाउँबाट ल्याउनुपर्ने देखिन्छ ।’
यसवर्ष तिहार पछाडि धकेलिएकाले फूलहरु फक्रिसकेका छन् । ‘फूलेका फूलहरु किसानहरुले निकाल्न डराउँदा पुरै फूल फुलिसकेका हुन्,’ उनले भने, ‘छिटाे फूलेकाे फूल टिपेर फाल्दा नयाँ कोपिला धेरै लाग्ने भएकाले फुललाइ १०/१५ दिन पछि धकेल्न सकिन्छ ।’
गतवर्ष चितवनमा ३५ विघामा सयपत्री फूल खेती गरिएको थियो । त्यतिबेला तिहार ढिला भएकाले फूल राम्रोसँग फक्रिन नपाएपछि मालाको हाहाकार भएको सापकोटाले बताए ।











