काठमाडौं । सर्वोच्च अदालतले तत्काल पक्राउ गरी थुनामा पठाउन आदेश गरेसँगै बाँके प्रहरीले रिगल भनिने गुण्डा नाइके योगराज ढकाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो । प्रहरीले रिगललाइ नेपालगञ्जबाट समातेकाे हाे ।
सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।
आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए ।
त्यसबेला घोराहीस्थित जिल्ला कारागारमा गाडीहरुको लाँवालस्कर लागेको थियो । कांग्रेसका कार्यकर्ताहरुले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङमा उनलाई घर लगेका थिए । तर, सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् ।











