चितवन। महिला पत्रकारहरुलाई पाँच दिने समाचार लेखन तथा सम्पादन तालिम सुरु भएको छ। सञ्चार रजिस्ट्रार कार्यालय हेटौडाले आयोजना गरेको पाँच दिने तालिममा प्रदेशका ३१ जना महिला पत्रकार सहभागी हुनेछ्न्। तालिममा पत्रकार सुरेन्द्र पाण्डे र बिनोद ढुङ्गानाले प्रशिक्षण दिनेछन्।
उद्घाटन कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेशमा रहेका महिला पत्रकारहरुलाई सक्रिय बनाउन तयार रहेको बताए। सिक्ने र सिकाउने दोहोरो प्रक्रिया भएकाले कार्यक्रम सफलताको समेत शुभकामना दिएका छन्।
‘महिला पत्रकारहरुले बिहेपछि स्वतः निष्क्रिय हुँदै जाने बाध्यता भोग्नुपर्ने अवस्था छ’, उनले भने, ‘उक्त अवस्थालाई कम गर्न तपाईहरु हामीलाई सुझाव दिनुहोस्, बागमती प्रदेशले आवश्यक कानुन बनाउन तयार छ।’
त्यस्तै कार्यक्रममा सञ्चार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार रेवती सापकोटाले तालिमको मुख्य उद्देश्य महिला पत्रकारलाई निरन्तर सक्रिय बनाईराख्नु रहेको बताए। ‘महिला पत्रकारहरु विवाह र सुत्केरी भएपछी स्वतः निश्क्रिय हुने अवस्था छ,’ उनले भने, ‘उक्त अवस्थालाई कम गरेर निरन्तर रुपमा सक्रिय बनाउन र डेस्कमा बसेरै समाचार लेख्न र सम्पादन गर्न योग्य बनाउन यो तालिम दिन लागेका हौं।’
कार्यक्रममा बोल्दै पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीले तालिम अवधिभर पत्रकार महिला पत्रकारहरुको सिक्ने चाहाना पूरा हुने बताएका छन्। राम्रो लेख्न सक्ने कला भएकाले सम्पादन गर्न सक्ने र सम्पादन गर्नेले समाचार लेख्न सक्छ भन्ने प्रमाण भएको अधिकारीले बताए। महिलाहरुलाई संचार क्षेत्रमा टिकाईरहन यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको पत्रकार महासंघ नेपालको केन्दृय सचिव सिर्जना अर्यालले बताईन्।










