पोखरा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न कुनै दबाब नदिएको बताएका छन् । सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेका हुन् ।
‘प्रचण्डलाई गएर दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्यो भनेर बिन्ती बिसाएँ अरे !,’ उनले भने, ‘काटिएर जाओस् शीर बरु त्यस्ताहरूसँग यो शीर झुक्दैन । भोकै मर्छु होला तर लाशका त्यान्द्रा टिप्न जाँदैन ।’ झुटको सहारा लिएर, भ्रम फिँजाएर, जनतालाई अल्मल्याएर भएका कुप्रचार, हल्लाबाट विचलित नहुन उनले कार्यकर्तालाई आग्रह गरे । उनले तथ्य प्रमाणसहित गठबन्धनसँग उनीहरुले गरेका क्रियाकलापबारे बहस गर्न तयार रहेको बताए ।
‘पदमा बस्छु बस्दिनँ बेग्लै कुरा हो, २० वर्ष अझै राजनीति गर्छु । यो देशका प्रतिक्रियावादी शक्तिलाई ठेगान लगाउनु छ,’ उनले भने, ‘म पदमा नबसे पनि पर्तिरबाट साथीहरूलाई अगाडि बढ साथी हो भनेर बल दिन्छु ।’ उनले गण्डकी प्रदेश कमिटीको चुनावमा प्यानल बनाएर प्रतिस्पर्धा गर्दा स्वच्छताको कमी रहेको जनस्तरको टिप्पणी रहेको उल्लेख गरे ।











