–सुनिता सुवेदी
चितवन । खैरहनीकी सरस्वती ढकालले विवाह गरेको १६ वर्षपछि मात्रै मातृत्व महसुस गर्न पाइन् । भरतपुरमा रहेको ‘शिशु फर्टिलिटी क्लिनिक’बाट सेवा लिएपछि उनी छोरीको आमा बनेकी हुन् ।
२० वर्षको उमेरमै विवाह गरेकी ढकालको ३६ वर्षकाे उमेरसम्म पनि बालबच्चा नहुँदा उनी सामाजिक एवम् मानसिक तनाव झेल्न बाध्य भइन् । विवाह गरेको केहि समय पछि उनले आफ्नो गर्भको बच्चा गुमाइन् । त्यसपछि १६ वर्षसम्म पनि उनको गर्भ भरिएन ।
बच्चाको आशा मारिसकेकी उनलाई शिशु फर्टिलिटी क्लिनिककाे परामर्शसहितको उपचारले आमा बन्न सम्भव बनायो । पुरानाे मेडिकल कलेज अगाडिबाट सञ्चालनमा आएकाे क्लिनिककाे आइतबार उद्घाटन गर्न पुगेकी उनले बच्चा नहुँदा भाेगेकाे पिडा र बच्चा भएपछिकाे खुसी साटिन् ।
काठमाडाैंबाट हरेक महिनाको पहिलो र तेस्रो शनिबार आउने डाक्टर सुमि मुनंकर्मीले क्लिनिककाे स्थापना कालदेखी नै उपचार गर्दै आएकी छन् ।
‘गतवर्ष भरतपुरको शिशु फर्टिलिटी क्लिनिकमा काठमाडौँबाट डाक्टर आउने भन्ने सुनेपछि म यहाँ आएँ’, ढकालले भनिन्, अब बच्चा हुन्छ भन्ने त आशा नै थिएन तर डाक्टरको परामर्श र औषधीले मैले प्राकृतिक रुपमा नै बच्चा जन्माएर आमा बन्ने सौभाग्य पाएँ ।’
कुनैबेला कतिखेर साँझ पर्ला र मज्जाले रून पाइएला भनेर कुरेर बस्ने ढकाल आजभोलि छोरीको अनुहार हेरेपछि वर्षौसम्मको पीडा भुल्छिन् । ‘वैशाखमा छोरीको आमा बनेँ । मेरालागी शिशु प्रजनन क्लिनिक मन्दिर, यहाँका डाक्टर भगवान हुनुन्छ, उनले भनिन्, ‘उहाँहरुको कारण वर्षौपछि आमा बन्ने सौभाग्य पाएकी छु ।’
घरमा मान्छे आएर बच्चाको कुरा गर्दा उनलाई छट्पटि हुन्थ्यो । बच्चाको कुरा कसैले ननिकाले हुन्थ्यो जस्तो उनलाई लाग्थ्यो । उनले भनिन्, सकुञ्जेल काम गर्छु नसके नजिकै देवघाटको वृद्धाश्रममा गएर बस्ने मनस्थिती बनाएकी थिएँ ।’
बाटोमा कसैकाे बच्चा देख्दापनि फर्किफर्कि हेर्दै हिँड्ने उनको काखमा अहिले ५ महिनाकी छोरी छिन् । छाेरी पाएपछि उनले बच्चा नहुँदाकाे सबै पिडा भुल्ने काेसिस गरेकी छन् ।
पर्वत घर भएर भरतपुरमा नै बस्दै आइरहेकी ३५ वर्षिय वैजन्ती सारु मगरले पनि विहे गरेको १० वर्षपछि मातृत्व महसुस गर्न पाएकी छन् । शिशु प्रजनन क्लिनिकमा उपचार गरेपछि उनी जुम्ल्याहा छाेरीकाे आमा बन्न सफल भइन् ।
‘बच्चा नहुँदा समाजमा मान्छेले अगाडि पो केहि भन्दैनन् पछाडि धेरै कुरा सुनाए,’ उनले भनिन्, ‘अहिले मेरो २ वटा छोरीहरु छन्, मलाई संसारकै सबैभन्दा ठूलो खुसी मिलेको छ ।’
त्यस्तै विहे गरेको १३ वर्षसम्मपनि बच्चा जन्माउन नसकेकी भरतपुरकी मिना मोक्तान लामाको काखमा पनि अहिले २ वटा जुम्ल्याहा छोराहरु छन् । उनलेपनि वर्षौसम्म अनेकन उपचार विधि अपनाइन तर उनको कोख भरिएन ।
‘शिशु फर्टिलिटी क्लिनिकमा आएर डाक्टरलाई भेटेपछि आइभिएफ पद्धतिबाट बच्चा जन्माउन सकिने सल्लाह दिनुभयो,’ उनले भनिन्, ‘अहिले मेरो जुम्ल्याहा छोराहरु छन् । मैले १३ वर्षसम्म पाएको पीडा भुल्ने बाटो भएको छ । ’
आदर्श गृह नेपालकी संस्थापक मिना खरेलले समाजमा निःसन्तानपनको समस्याले महिलाहरू मानसिक र शारिरिक रुपमा प्रताडित हुनुपरेकाे अवस्थामा क्लिनिकले सराहनीय काम गरेकाे बताइन् । ‘परिवारमा खुसी र सुख ल्याउनुको साथै हिंसा रहित समाज बनाउन यस संस्थाको भूमिका महत्वपूर्ण छ,’ उनले भनिन् ।
डाक्टर सुमी मुनंकर्मीले निःसन्तानपनको समस्या भएका विरामीहरु पारिवारिक, सामाजिक र मानसिक तनाव लिएर क्लिनकमा आउने गरेको बताइन् । ‘हामीले परामर्शसहित निसन्तानपनको समस्या हटाउने प्रयत्न गरिरहेका छौँ,’ उनले भनिन्, ‘मेडिकलको अन्य क्षेत्रका भन्दा यसमा आमाको मुहारमा खुसी भर्न पाउँदा गर्वको महसुस भएको छ ।’
शिशु फर्टिलिटी क्लिनिक चिरञ्जीवि ढकाल र अभिनाश भण्डारीका दम्पतीकाे संयुक्त प्रयासमा खुलेको संस्था हो । आफुहरूले निःसन्तानपनकाे समस्या भाेगेपछि अरूले यस्ताे समस्या भाेग्न नपराेस् भनेर उनीहरूले क्लिनिक खाेलेका हुन् । खनाल भन्छन्, ‘सहि ठाउँ र सहि डाक्टरसमक्ष उपचार भएमा निसन्तानपन हटाउन सकिन्छ भन्ने उदाहरण यस क्लिनिकमा आएर सेवा लिने अभिभावकबाट थाहा पाउन सकिन्छ ।’
सञ्चालक अभिनाश भण्डारीका अनुसार हालसम्म उक्त क्लिनिकमा उपचारपछि ५० जना महिला आमा बनेका छन् भने ५० जना गर्भवती छन् । क्लिनिकमा अहिले मेडिकल उपचार र ‘आइयुवाई’ (पुरुषको वीर्य महिलाको पाठेघरमा राख्ने प्रक्रिया) को उपचार सञ्चालनमा रहेको भण्डारीले जानकारी दिए । आगामी वर्षदेखि ‘आईभिएफ’ (टेस्ट्युब बेबी) को सेवा चितवनबाटै सुरुवात गर्ने तयारी गरेको उनले बताए ।












