सुनिता सुवेदी
भरतपुर । भरतपुर महानगरपालिकाले कवाडीजन्य वस्तुमा कर लगाउने तयारी गरेपछि कवाड व्यवसायीले संयुक्त आन्दाेलन गर्ने भएका छन् । चितवन कवाड व्यवसायी संघ र सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघले शनिवार संयुक्त पत्रकार सम्मेलन गर्दै दोहोरो कर विरूद्ध सशक्त आन्दाेलन गर्ने बताएका हुन् ।
सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघका सल्लाहकार भोलानाथ सापकोटाले दोहोरो करको विरोधमा व्यवसाय नै बन्द गरेर आन्दाेलन गर्ने चेतावनी दिए । संयुक्त विराेधको पहिलो दिन भदौ २९ गते बिहान ९ बजे उद्योग वाणिज्य संघ नारायणगढबाट देखि सुरु हुने शान्तिपूर्ण र्याली चौबिसकोठी हुँदै जिल्ला प्रहरी कार्यालय–जिल्ला प्रशासन कार्यालयबाट फर्किएर महानगर पुगेर धर्नामा बस्ने तयारी रहेको उनले बताए । ‘३० गतेबाट धर्नासहितको कार्यक्रम गर्छौँ, त्यसपछि पनि हाम्रो माग सुनुवाई नभए पुर्नप्रशोधनको खरिद विक्रि ठप्प पारेर आन्दोलनका उत्रिन्छौँ,’ उनले भने, ‘हामीले व्यवसायिक कर तिरिरहेका छौँ तर दोहोरो कर तिर्न सक्दैनौँ।’
महानगरको सरसफाई हुने र फोहोरलाई पुनःउपयोगी बनाउने काम गर्दापनि दोहोरो कर लगाउनु नाजायज भएको सापकोटाले बताए । ‘व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गरेर विदेश पलायन गराउने वातावरण महानगरले सिर्जना गर्दै छ,’ उनले भने, ‘जर्वजस्ती र दादागिरी मार्फत ठेक्का लगाउने काम महानगरले गर्न पाउँदैन बरु हामी विकल्प दिन तयार छौँ ।’
सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघका सचिव पुरन मल्लले महानगरले ठेक्का लगाएर व्यवसाय बन्द गराउन खोजेको आरोप लगाए । ‘हामीले आफ्नो जीविका पालन गर्नुको साथै महानगरको सरसफाईमा समेत हामीले सहयोग गरिरहेका छौँ,’ उनले भने, ‘महानगरको ठेक्का प्रक्रियाले कवाड व्यवसाय पलायन हुन्छ, हामीलाई व्यवसाय गर्न दिदैँन ।’
मल्लका अनुसार ५० टन फोहोरबाट करिब २५ टन फोहोर पुनःउपयोगको लागि विक्रि गरिन्छ ।
चितवन कवाड व्यवसायी संघका उपाध्यक्ष ललन कुमार कानुले दोहोरो करले व्यवसाय चलाउन गाह्रो हुने बताए । महानगरले जर्बजस्ती लगाएको ठेक्का प्रक्रिया नहटाए व्यवसायमा असर पर्ने उनको भनाई छ । ‘महानगरले खेलाँची गरेको जस्तो मानेको छ, आवश्यक परेको बेलामा वर्षौदिनसम्म पनि व्यवसाय बन्द गरेर आन्दाेलन गर्छाैँ,’ उनले भने ।
सरसफाई तथा पुन उपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकर बहादुर खत्री क्षेत्रीले दुईवटा संघ एकजुट भएर दोहोरो करको विरुद्ध लड्ने बताए । ‘बल्ल कास्टिङ सुरु हुँदै छ, पुरा फिल्म बाँकी नै छ,’ उनले भने, ‘महानगरले एकोहोरो कर लाग्छ भन्ने, हामीलाई खेलाची सम्झिरहेको छ ?’
आफूले ३० वर्षको व्यवसायमा करिब ६ करोड कर तिरिसकेको उनले बताए।
त्यस्तै कवाड व्यवसायी संघका अध्यक्ष नारायण सिँह गुरुङले महानगरले ठेक्का प्रथा खारेज गर्नुपर्ने बताए । ‘स्थानीय सरकारले अप्रत्यक्ष रुपमा हामीमाथी डोजर चलाएको हो,’ उनले भने, त्यसको सामाना गर्न हामी कुनै कसर बाँकी राखिदैँन ।’
गत वैशाखदेखि निरन्तर महानगरसँग ठेक्का आह्रवान नगर्न अनुरोध गर्दै आइरहेका व्ययवसायीको कुरा महानगरले सुनुवाई नगरेको उनीहरुको गुनासो छ । गत भदौ २१ गतेदेखि कवाड व्यवसायीहरु निरन्तर महानगरपालिकामा धर्ना बसिरहेका छन् ।












