काठमाडौं । बजार अनुगमनका क्रममा चितवनबाट म्याद गुज्रिएको झण्डै एक करोडको बियर नष्ट गरिएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनका क्रममा चितवनमा ९७ लाख मूल्य बराबरको ४ गाडी बियर नष्ट गरेको हो। याक ब्रुइङ कम्पनीको बाह्रसिंगे बियर इच्छाकामनाको कुरिन्टारमा लगेर नष्ट गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए।
विभागले शनिबार काठमाडौँको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा पनि अनुगमन गरेको थियो। पेप्सीकोलास्थित एक किराना पसललाई सिल गरिएको विभागका सूचना अधिकारी पोखरेलले जानकारी दिए।
उनका अनुसार उक्त पसलको गोदाममा दाल, चामल बिस्कुटलगायतका सामानहरू एकै ठाउँमा राखिएको पाइएपछि विग्रिएको आशंका गरिएको छ। गोदाममा रहेको चामल परीक्षणका लागि प्रयोगशालामा नमुना पठाइँदैछ।
विभागले साउन १ गतेदेखि असोज १२ गतेसम्म ११ सय ४६ वटा अनुगमन गर्दा ९२ लाखभन्दा बढी जरिवाना गराएको छ भने ३४ वटा फर्मबाट १ करोड १ लाखको सामान नष्ट गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।












