–सुनिता सुवेदी
चितवन । मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग हो, आँखा । मान्छेको मृत्युपछि पनि आँखाको नानी काम लाग्छ । आँखाको नानी दान गर्दा कसैले यो उज्यालो संसार देख्न सक्छ । भरतपुर आँखा अस्पतालको भिमराज उषामाया पाठक आँखा बैंक, आँखाको नानी संकलन केन्द्रले नानी संकलन गर्ने काम गरिरहे पनि विभिन्न अप्ठ्यारा तथा जटिलता देखिएको छ ।
भरतपुर आँखा अस्पतालमा २०७४ साल कात्तिक २५ गते भिमराज उषामाया पाठक आँखा बैंक, आँखाको नानी संकलन केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्रले मरणोपरान्त आँखाको नानी निकालेर अर्को नदेख्ने व्यक्तिको आँखामा प्रत्यारोपण गर्दै आएको केन्द्रकी संयोजक छायाँ श्रेष्ठले जानकारी दिइन् ।
लायन्स क्लब अफ नारायणी एमजेएफले सोमबार आयोजना गरेको आँखाको नानी संकलन तथा सचेतना कार्यक्रममा बोल्दै श्रेष्ठले स्थापनाकालदेखि हालसम्म २४ जनाको ४७ वटा आँखाको नानी संकलन गरिएको बताइन् । ‘मरेपछि आँखा दान गर्छु भनेर अहिलेसम्म ११ सय २९ जनाले फर्म भरिसक्नु भएको छ,’ उनले भनिन्, ‘नेपाल र भारतमा गरेर हालसम्म १३१ जनाको आँखामा नानी प्रत्यारोपण गरिसकेका छौँ ।’
ेश्रेष्ठले मरणोपरान्त आँखाको नानी दान गर्न भरेको फारम बारे आफ्नो परिवार र छरछिमेकमा समेत जानकारी गराइदिन अनुरोध गरिन् । मानिसको शरिर मरेर गएपनि जिउँदो आँखालाई खेर नफाल्न उनको आग्रह छ ।
‘मानिसको मृत्यु हुनु संवेदनशील कुरा हो । परिवारका सदस्यको मृत्युपछि परिवारका अन्य व्यक्तिलाई आँखा दान गर्ने बारेमा ध्यान नपुग्न सक्छ,’ उनले भनिन्, ‘छरछिमेकीलाई यस बारेमा थाहा भएमा हामीलाई खबर गर्न सहज हुनसक्छ ।’ मरणोपरान्त आँखाको नानी दान गर्ने फारम भरेका व्यक्तिको मृत्युपछि परिवारमा पिडा हुने भएकाले पनि आँखाको नानी माग्न अप्ठ्यारो हुने गरेको उनी बताउँछिन् ।
आँखा संकलन केन्द्रले हालसम्म ७ वर्षदेखि १०१ वर्ष सम्मका व्यक्तिको आँखाको नानी निकालेको उनले बताइन् । उनका अनुसार आँखाको नानी झिक्न १० देखि १५ मिनेट मात्रै लाग्छ ।
‘खरानी हुने आँखाले अर्को जीवित दृष्टि विहिन व्यक्तिले संसार देख्न सक्छ । त्यो भन्दा ठूलो धर्म अर्को हुँदैन,’ उनले भनिन् ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रका प्राविधिक दिलिप ताण्डुकारले एउटा आँखा दुई जनासम्मलाई प्रत्यारोपण गर्न मिल्ने बताए । ‘आँखा दान गर्दा हामी अमर हुन्छौँ, त्यो भन्दा पुण्यको काम अर्को हुनै सक्दैन,’ उनले भने, ‘शरिर त मर्यो, नमरेको नानीलाई नमारौँ ।’
सामान्यतया मानिसको मृत्यु भएको ८ घण्टाभित्र आँखाको नानी निकाल्नुुपर्ने ताण्डुकार बताउँछन् । आँखा दान गर्न उमेर हद नभएकाले कम्तीमा २ वर्षदेखि माथीको व्यक्तिले नानी दान गर्न सक्ने उनले बताए ।
‘आँखाको रोग वा आँखाका फूलो परेको र हेपाटाइटिस, एड्स, टिबि, रेबिज लगायतका केहि रोग लागेका व्यक्तिले आँखा दान गर्न मिल्दैन,’ उनले भने ।
आँखाको नानी दान गर्न इच्छुक व्यक्तिलाई आँखाको नानी दान परिचय पत्र उपलब्ध गराइन्छ । ‘व्यक्तिको मृत्यु भएपछि आँखा जोगाउनु महत्वपूर्ण कुरा भएकाले सुरुमा आँखा ढाक्ने र आँखामा अबिर वा अक्षता पर्न दिनुहुँदैन,’ उनले भने ।
आँखाको नानी प्रत्यारोपण गर्दा भने २० देखि २५ हजार रुपैयाँ सम्म लाग्ने उनले बताए । आँखाको नानी निःशुल्क दान गर्ने भएपनि उक्त नानी सफाई गरेर राख्दा निश्चित रकम खर्च हुने भएकाले प्रत्यारोपण गर्दा पनि केहि शुल्क पर्न गएको उनी बताउँछन् । विपन्नले विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा निःशुल्क प्रत्यारोपण पनि गराएको उनले बताए ।