चितवन। नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवम् प्रेस सेन्टर चितवनका जिल्ला इन्चार्ज प्रकाशमणी ज्ञवालीले भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गरेका छन्।
आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई चौतारी भवन निर्माणका लागि २५ हजार रूपैयाँ सहयोग गरेका छन्।
भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको भवनका प्रेस चौतारीको देश कै पहिलो भवन हो । पत्रकार ज्ञवालीले प्रेस चौतारी चितवनको भवन सबै पत्रकारहरुको साझा भवन भएको भन्दैं भवन निर्माणको प्रकृयामा विभिन्न ठाउँमा सहयोगका लागि सहजीकरण गरेको स्मरण गरे।
एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुखसमेत रहेका ज्ञवालीले आगामी दिनमा भवनका लागि के कति सहयोग जुटाउन सकिन्छ त्यसका लागि अनवरत रुपमा लाग्ने उनको भनाईं छ । भवन निर्माणका लागि सहयोग गर्ने मन पहिल्यैदेखि बनाएको बताउँदै पत्रकार ज्ञवालीले जन्मदिनको अवसरमा अन्य फजुल खर्च नगरी सामाजिक काममा सहयोग गरेको बताए।
जन्मदिने आमा र भाइसहित प्रेस चौतारीको निर्माणाधीन भवनस्थल पुगेका ज्ञवालीले जन्मदिनको अवसर पारेर भवनका लागि सकेको सहयोग गर्न पाउँदा आफूलाई खुसी मिलेको बताए । लामो समयदेखि चितवनमा पत्रकारिता गर्दै आएका ज्ञवाली जिल्ला कै अग्रज पत्रकार हुन्। सो अवसरमा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि ज्ञवालीले प्रदान गरेको सहयोगले संगठनलाई हौसला, उत्पेरणा र उर्जा मिलेको बताए।
उनले जग्गा चौतारीको नाममा भए पनि भवन निर्माणमा सबैको उत्तिकै पसिना, श्रम, मेहनत र लगानी परेको भन्दैं यसलाई साझा रुपमा उपयोग गर्न सकिने बताए। ‘चौतारी भनेको नै साझा विषय हो, चौतारीले कसैलाई शितलता दिन्छु कसैलाई दिन्न भन्दैन, त्यसैले यो सबै अटाउने, सबैलाई शितल छहारी दिने भवन हो’ पण्डितले भने, ‘सबै पक्षबाट भएको सहयोगबाट भवनलाई चाँडै नै पूर्णता दिइने छ ।’
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तला ढलान गरेर भित्र प्लाष्ट्ररको काम भैरहेको छ । भवनको दोस्रो तला ढलानको तयारीसमेत भैरहेको पण्डितले जानकारी दिए। साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।











