काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूहरूले विगतमा बहुमत पाउँदा पनि सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन्।
मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा उनले बहुमतको सदुपयोग गर्न नसकेकै कारण अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका हुन्।
अहिले संसदमा रहेका कम्युनिष्ट पार्टीहरूका सांसदको संख्या जोड्दै उनले गत फागुन २१ गतेको निर्वाचनमा मिलेर चुनाव लडेको भए यो दिन नआउने तर्क गरे। उनले नेपालमा प्रतिक्रियावादी र विस्तारवादीको प्रभाव रोक्न कम्युनिष्ट एकताको विकल्प नरहेको दाबी गरे।
‘अब हात मात्र होइन मन पनि मिलाउनुपर्ने अवस्था आएको छ’, उनले भने। उनले एउटा देशमा एउटै कम्युनिष्ट पार्टी हुनुपर्ने तर्क गरे।
उनले जनजीविकाका सवालमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै बढ्दो महँगी र बढ्दो वैदेशिक ऋणप्रति चिन्ता व्यक्त गरे।











