काठमाडौं। राष्ट्रियसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले स्व. नेम्वाङको निधनको शोक प्रश्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रियसभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए।
स्व। नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रियसभा सदस्य, २०५६ मा प्रतिनिधिसभा सदस्य,२०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिक संसद् सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा सदस्य थिए।
साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष थिए।
यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका स्व। नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए। संविधान सभामार्फत नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो।
राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रवार अपरान्ह बजेर १ मिनेटमा बस्नेछ।











