काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राख्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उमेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।
यसका लागि उमेदवारले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उनले आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको बताए ।
उमेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएको उनले बताए । प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणादेखि मतपरिणम घोषणापछि विजयी उम्मेदवारले गर्ने भोज भतेर पनि निर्वाचन खर्चमै जोडिएकोले यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताए ।
दलका उमेदवारले सामाजिक सञ्जालमा कति खर्च गरे त्यो हेर्न मिल्ने प्रविधि बनाइएको भन्दै उनले पर्यवेक्षकले लाइक कमेन्ट गरेको पनि आयोगले निगरानी राख्ने बताए । १० हजार ८९० मतदान केन्द्रमा हुने निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन पर्यवेक्षकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । प्रशिक्षण कार्यक्रममा ७७ जिल्लाका जिल्ला संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागी छन् ।











