सुनिता सुवेदी
भरतपुर । भरतपुर महानगरपालिका–२५ शुक्रनगरका होम बहादुर बोटले घरेलु औजार बेच्न थालेको १७ वर्ष भयो । उनी घर–घर पुगेर कचिया, खुर्पा, कुटो, कोदालो, बञ्चरो, दाउ, फरुवा जस्ता घरेलु औजार बेच्छन् । भरतपुर महानगरको गितानगर, शिवनगर, लक्ष्मीपुर, मंगलपुर, रामपुर उनले औजार बेच्ने ठाउँ हुन् ।
घर नजिकै रहेको आरनमा बनाइएका औजार लिएर उनी बेच्न हिँड्छन् । सामानको १० प्रतिशत रकम उनको पोल्टामा पर्छ । साहुले तोकेको रकम भन्दा बढि पैसा पार्न सकेको खण्डमा त्यो आफूलाई बोनस हुने होमबहादुर बताउँछन् ।
‘दिनभर कमायो बेलुका लगेर साहुलाई पैसा दिन्छु । त्यसैको १० प्रतिशत मैले पाउने गरेको छु । त्यो भन्दाबढि पार्न सके आफूलाई बोनस जस्तै हो’, बोटले भने, ‘मसँगबाट सामान किन्ने ग्राहकहरु मलाई नै पर्खेर बसिरहेका हुन्छन् । कतिले त नम्बर लिएर फोन गरेर बोलाउँछन् ।’
२०५१ सालमा पुख्र्याैली घर सर्लाहीबाट उनी रोजगारको सिलसिलामा चितवन आएका थिए । १० भाई मध्ये आफु जेठो छोरा भएको बताउने उनी जिम्मेवारीले चितवन झर्न बाध्य भएको बताउँछन् । चितवनमा आएर जागिर गर्ने क्रममा एउटी युवतीसँग बिहे गरेर उनी फेरि गाउँ फर्के ।
२०५२ सालमा उनी श्रीमती सँगै ससुरालीमा आएर बस्न थाले । सुरुवाती दिनमा किसानका बारीबाट ताजा तरकारी उठाएर साइकलमा बेच्दै घरघर जान थाले । दैनिक २ देखि ४ सय रुपैयाँ मात्र हुने कमाइले घरधान्न सकेन । २०५७ सालदेखि उनले निउरो बेच्न सुरु गरे । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनबाट निउरो ल्याएर साइकलमा नै घर–घरमा पुगेर उनले बेच्न थाले ।
‘त्यतिबेला बाटो पिच थिएन । साह्रै अफ्ठ्यारो थियो । सबेरै उठेर हिँड्दा खाल्डा खुल्डीमा साइकल बजारिन्थ्यो । ससुरालीमा बसेर निउरो बेचेरै १२ जना परिवार धान्न सक्ने भएँ । ६ वर्षपछि निउरो बेच्न पनि छाडेँ’, उनले भने ।
त्यसपछि सुरु गरेको घरेलु औजार बेच्ने कामबाट सन्तुष्ट भएको उनी बताउँछन् । दैनिक २९ हजार रुपैयाँसम्मका सामान बेचेको उनको अनुभव छ । ‘आज त व्यापारै भएन भन्दापनि ६÷७ हजारको सामान बेचेको छु । त्यसबाट १५ सयजति आफ्नो भागमा पर्छ,’ उनले भने, ‘राम्रो कमाई हुँदा महिनामा ६० हजारसम्म आम्दानी हुन्छ, थोरैमा २५ हजार त हुन्छ ।’
१७ वर्ष अघि कचियालाई ५० रुपैयाँमा बेचेका उनले अहिले ३०० रुपैयाँसम्म लिन्छन् । उनले एउटा खुर्पालाई दुई हजार ५०० रुपैयाँमा विक्री गर्छन् । ट्याक्टरमा प्रयोग गर्ने हाइड्रोबाट फलामका घरेलु औजार बनाउने गरेको उनी बताउँछन् ।
जाडोमा भन्दा गर्मी याममा धेरै कमाइ हुने उनको भनाई छ । ‘जाडोमा त घाम झुल्किदा बित्तिकै अस्ताइहाल्छ । गर्मीमा लामो दिन हुन्छ, दिनभर हिड्न पाइन्छ, कमाइपनि धेरै हुन्छ ।’ उनले घाम र गर्मीको पर्वाह नगरी घरेलु औजार विक्री गर्दै हिँड्छन् । सामान बेच्न थालेदेखि उनले हालसम्म ४ वटा साइकल फेरिसके । अण्डा बोक्ने पुरानो साइकल किनेर घरेलु औजार बेच्न थालेका हुन् ।
गत वर्षको भदौमा उनकी श्रीमतीले उनलाई छाडेर सधैँको लागि अस्ताइन् । औजार बेचेरै उनले दुई वर्ष अगाडी ५ लाख रुपैयाँमा आफ्नै घर बनाए । उनका ४ भाइ छोरा छन् ।
बाँसुरी बजाउने शोख
होम बहादुरलाई सानै उमेरदेखि बाँसुरी बजाउन रहर लाग्थ्यो । उनले १२ वर्षको उमेरदेखि बाँसुरी बजाउन सुरु गरेको बताउँछन् । गाउँमा काम गर्दा नै उनले बाँसुरी आफै बनाउने र बजाउने गर्थे । चितवन झरेपछि पनि उनले बाँसुरी छाडेनन् ।
‘बीचमा केहि वर्ष बजाउन छाडेको थिएँ । आजभोली फेरि बजाउँछु । कहिलेकाँही बाँसुरी बजाउने नै मेरो पेशा भइदिए ठूलै ठाउँमा पुग्थेँ होला भन्ने कुरा मनमा खेल्छ,’ उनले भने ।
श्रीमतीले छाडेर गएपछि एक्लो महसुस हुने गरेको उनी बताउँछन् । ‘औजार बेच्दै जाँदा सबैले बाँसुरी देखेर बजाउन भन्छन्, अनि बजाउँछु,’ उनले भने ।
चितवनको गर्मी होस् वा जाडो उनको साथबाट बाँसुरी छुट्दैन । ‘गर्मीेमा शितल ताप्दा पनि बाँसुरी बजाउँछु, जाडोमा घाम ताप्दापनि बाँसुरी बजाउँछु । बाँसुरीले मेरो दुख पीडा सबै भुलाउँछ’, उनले भने ।











