काठमाडौँ । साधारणसभाबाट पारित भई आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।
बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताए। चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरे। क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पष्ट पारे।
अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमी कमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौताअनुरूप काम नहुनु दुःखद भएको बताए। सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टस्लाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि स्वीकार गरे।
सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरानमा विभिन्न कारण विवाद हुनु क्रिकेट संघको पनि कमजोरी रहेको बताए।
अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एकरदुई महिनाभित्रै पाउने जानकारी दिए। उनले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिट्टै पूरा हुने पनि बताए। यस्तै पुरस्कारको रकम सेभेन थ्री स्पोर्टस्ले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तरराष्ट्रिय स्तरबाट लिन पहल गर्ने समेत बताए।
प्रतियोगिताको दौरानमा अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारी संलग्न भए कारबाही भोग्न तयार रहेको बताए। उनले टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताए।
नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूसहित १० जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ।












