मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले ९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ। कोरला नाकाबाट शनिबार ५ शङ्कास्पद रूपमा लुकाएर भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो।
कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए।
शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो।












