काठमाडौं । नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख भएको छ । काँग्रेसको देउवा पक्षले समानान्तर गतिविधि बढाएसँगै कांग्रेस अब बिभाजन उन्मुख भएको स्पष्ट देखिएको छ ।
काँग्रेस नेता पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि काँग्रेसमा तरंग उत्पन्न भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउको विषयमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताएका थिए । खड्काको यस विज्ञप्तिपछि उनलाई काँग्रेसले कारवाहीको तयारी गरेको छ ।
अर्कोतर्फ देउवा पक्ष यतिमै रोकिएको छैन । देउवा पक्षले आज सोमबार नवनिर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । त्यस्तै मंगलबार र बुधबार १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठक समेत बोलाएको देउवा पक्षका नेताहरुले जानकारी दिएका छन् । देउवा पक्षले केन्द्रीय समितिको बैठक पछि प्रदेश र जिल्ला स्तरसम्म समेत भेला र बैठक गर्ने तयारी गरेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचन काँग्रेस नेतृत्वले असोजमा १५औं महाधिवेशनको मिति घोषणा गरेर अब चुनावी हारपछि महाधिवेशनमा होमिने निर्णय गरेको छ । ओली र लेखकको प्रक्राउको विरोधमा सडकमा नजाने र सरकार केहि व्यक्तिलाई निशाना बनाएर कारवाहीमा उत्रिएको भन्ने बाहेक काँग्रेस सरकारको कदमप्रति ‘सफ्ट’ भएको छ । काँग्रेसले भदौ २४ को घटनाको छानबिन र दोषीलाई कारवाही हुनुपर्नेमा काँग्रेसले जोड दिएको छ ।











