चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । भरतपुरको बाह्रघरेस्थित मुनलाइट इङलिस स्कुलमा कक्षा ७ मा पढ्ने १३ वर्षीय प्रशान्त क्षेत्री र सनम रम्तेलको नदीमा डुबेर मृत्यु भएको हो ।
परीक्षा दिन विद्यालय गएका उनीहरुको नारायणी नदीको घोलमा पौडी खेल्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले जानकारी दिए।
उनका अनुसार कक्षा ७ मा पढ्ने १३ वर्षका क्षेत्री र रम्तेल परीक्षा सुरू हुनुअघि नारायणी नदीमा पौडी खेल्न गएका थिए।
उनीहरूको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। विद्यालय र नदीको दूरी करिब ८ सय मिटर छ। विद्यार्थी डुबेर बेपत्ता भएको सूचना पाएपछि खोजी गर्दा घोलमा डुबेको अवस्थामा भेटिएको एसपी पुरीले जानकारी दिए।









