भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीको ऐतिहासिक कृति बखानलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।
साहित्य संगम चितवनले हरेक वर्ष वितरण गर्ने यो पुरस्कार यो वर्ष बखान उपन्यासकालागि पत्रकार बसन्त पराजुलीलाई प्रदान गर्न लागिएको हो ।
साहित्य संगमका अध्यक्ष शशिकिरण रेग्मीले भोलि (शनिबार) एक कार्यक्रमका बीच सो पुरस्कार वितरण गरिने जानकारी दिए । पुरस्कारको राषी २० हजार रुपियाँ नगद, दोसल्ला र सम्मान पत्र रहेको पनि उनले बताए ।
प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालिन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषय वस्तुलाई उपन्यासमा शसक्त रुपमा उठान गरिएको छ । अध्यक्ष रेग्मीले चितवन सहिदहरुको रगतले सिंचित भएको र उनिहरुकै पृष्ठभूमिमा रहेर बखान उपन्यास लेखिएकाले यो वर्षको पुरस्कार छनौटमा परेको जानकारी दिए ।
२०६४ सालमा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार यसअघि १२ जना स्रष्टा सम्मानित भएका छन् ।
पराजुलीका यस अघि कुमाता, मोम्चो र अग्रेजीमा ड्रिमी आइज कथासंग्रह प्रकाशनमा छन् । झण्डै दुई दशक समयदेखि पत्रकारितामा कृयाशिल पराजुली अहिले चितवनलाई आधार बनाएर पत्रकारितामा सक्रिय छन् ।












