माडी । माडी नगरपालिका–८ स्थित राष्ट्रिय आधारभूत विद्यालय, दक्षिण अयोध्यापुरीमा कक्षा ४ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी निरज प्रजालाई बेटर चितवनको संयोजनमा चक्र फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ ।
बेटर चितवनका संस्थापक इन्जिनियर सागर कार्कीका अनुसार निरज प्रजालाई १८ वर्ष उमेर नपुग्दासम्म वर्षमा दुई पटक, प्रति किस्ता ९ हजार रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनेछ ।
निरज प्रजाका माइजु सुनिता प्रजा तथा विद्यालयका प्राचार्य नन्दलाल राईको रोहबरमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो । छात्रवृत्तिसँगै विद्यालय झोला र स्टेसनरी सामग्री समेत प्रदान गरिएको छ ।
चक्र फाउन्डेसनका संस्थापक सागर गौतमले आफ्ना स्वर्गीय पिता पूर्व भारतीय सैन्य अधिकारी चक्र गौतमको स्मृतिमा यो छात्रवृत्ति प्रदान गर्दै आएका छन् । निरज यस छात्रवृत्तिबाट लाभान्वित हुने दोस्रो विद्यार्थी हुन् । आमाबुबाविहीन र अत्यन्त कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई लक्षित गरेर यो सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।
छात्रवृत्तिको वितरण, अनुगमन तथा आवश्यक व्यवस्थापन बेटर चितवनले गर्दै आएको छ ।











