काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो ।
तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।
मौसमविद्ले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताए । उनका अनुसार अहिले बङ्गालको खाडीमा फेरि अर्को न्यून चापीय प्रणाली बनेको छ ।
भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको उनले बताए । जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ । यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए ।














